आठराई त्रिबेणीले आफ्नै भवनबाट सेवा दिन शूरु

वेलकम खबर
माघ ९, २०८२

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका आफनै भवनमा सरेको छ । गाउँपालिकाले शुक्रवार नवनिर्मित प्रमुख प्रशासकीय भवन तथा सामुदायिक भवनको एकसाथ उद्घाटन गर्दै सेवा नवनिर्मित भवनबाट सेवा सूचारु गरेको हो । पालिका अध्यक्ष दीपेन्द्र पोमूले दुबै भवनको उद्घाटन गर्नु भएको हो । ६ करोड ५३ लाख रुपैयाँ बजेट रहेको पालिकाको प्रमुख प्रशासकीय भवनका लागि २०७९।८० बाट प्रकृया आरम्भ भएको थियो । भलिबल,ब्याडमिन्टन सहितका खेलहरु समेत खेल्न मिल्ने प्रकृतिको सामुदायिक भवन ८० लाख रुपैयाँको लागतमा निर्माण कार्य पूरा भएको पालिकाले जानकारी दिएको छ ।
मैवाखोला,मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणाधिन अवस्थामा छन् । सिदिङ्वा गाउँपालिकाले भने भर्खर मात्र प्रकृया सुरु गरेको छ । बसन्त पञ्चमीको अवसर पारेर शुभ साइतका साथ प्रमुख प्रशासकीय र सामुदायिक भवनको उद्घाटन गरिएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय भवन,अध्यक्ष उपाध्यक्ष आवास कक्ष, कर्मचारी आवास कक्ष र सामुदायिक भवन निर्माण कार्य पूरा भएको र विद्युतीय तारबार सहितका केहि संरचना पूरा हुन बाँकी रहेकोले केहि समय पछि उद्घाटन गरी सेवा सुरु गरिने पालिकाले जनाएको छ ।
पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ, आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ राई, पालिकाका पूर्व अध्यक्ष विश्वनाथ सिटौला र पूर्व उपाध्यक्ष मञ्जु पौडेल भट्टराई सहितको उपस्थितिमा भवनको उद्घाटन गरिएको थियो ।
आठराई त्रिबेणीले समेत आफ्नै प्रशासकीय भवनबाट सेवा दिन दिन थालेपछि ताप्लेजुङका ५ स्थानीय तहले आफ्नै नयाँ प्रशासकीय भवन पाएका छन् । सिरिजङ्गा गाउँपालिका,फुङलिङ नगरपालिका,मेरिङदेन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाले यसपहिलेबाट नै आफ्नै प्रमुख प्रशासकीय भवनबाट सेवा दिईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*