ताप्लेजुङमा ८ सय ९२ निर्वाचन प्रहरीमा जागिर खुल्यो
ताप्लेजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा आठ सय ९२ जना निर्वाचन प्रहरीमा जागिर खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वेद प्रकाश गौतमले दरखास्तको लागि शुक्रबारबाट माघ १ गतेसम्म आवेदन दिन सकिने बताउनुभयो । प्रहरी नायब उपरीक्षक गौतमका अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सार्वजनिक बिदाका दिनसमेत जिल्ला प्रहरी कार्यालयमार्फत फाराम भर्न सकिने व्यवस्था सूचनामा उल्लेख गरिएको छ । निर्वाचन प्रहरी भर्नाको अन्तिम नतिजा भने पुस १२ गते प्रकाशन हुने बताइएको छ । निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति पाएको मितिले जम्मा ४० दिन कायम हुनेछ ।



















