दसैँमा ताप्लेजुङको पाथीभरामा श्रद्धालुको घुइँचो

वेलकम खबर
अशोज १०, २०८२

ताप्लेजुङ । ताप्लेजुङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा मन्दिरमा बडादसैँको समयमा भक्तजनहरूको उल्लेख्य भीड देखिन थालेको छ। विशेष गरी दसैँको घटस्थापनादेखि पूर्णिमासम्म यहाँ दर्शनार्थीहरूको चाप अत्यधिक हुने गरेको छ। यस वर्ष पनि देशका विभिन्न भागसहित भारत, भुटान र अन्य देशबाट समेत ठूलो संख्यामा भक्तजनहरू पाथीभरा पुगेका छन्।

भीड व्यवस्थापन तथा भक्तजनहरूलाई सहज सेवा प्रदान गर्न मन्दिर क्षेत्र व्यवस्थापन समितिको समन्वयमा सुरक्षा निकाय, स्थानीय प्रशासन र स्वयंसेवकहरू मिलेर सहायत कक्षहरू स्थापना गरेका छन्। ती सहायत कक्षहरूबाट दर्शनार्थीहरूलाई मार्गनिर्देशन, प्राथमिक उपचारका साथै विभिन्न सूचना तथा आवश्यक सहयोग उपलब्ध गराइन्छ।

यातायातको व्यवस्था यस वर्ष तुलनात्मक रूपमा थप व्यवस्थित बनाइएको छ। फुङलिङ बजारदेखि काफ्लेपाटी मन्दिर क्षेत्रसम्म सवारी साधन पुग्ने बाटोमाथि विशेष ध्यान दिइएको छ। सडक मर्मत तथा सुधार गरिएका छन्। साथै ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली खटाइएको छ।

मन्दिर क्षेत्र वरपरको सरसफाइ, खानपानको व्यवस्था, अस्थायी शौचालय तथा पिउने पानीको जोहो पनि गरिएको छ। स्थानीयवासी तथा व्यवसायीहरू समेत यात्रुहरूको स्वागतमा जुटेका छन्। तीर्थयात्रीहरूका लागि अस्थायी आवास गृहहरू निर्माण गरिएको छ भने स्थानीय होटल तथा लजहरूमा तीर्थयात्रीहरुले बुकिङ गरिरहेको स्थानीय होटल व्यवसायी सीता कार्की बताउँछिन्।

दसैँको अवसरमा पाथीभरा मन्दिर दर्शनलाई विशेष महत्व दिने भक्तजनहरूले यस स्थलमा पुजा, बलि तथा अन्य धार्मिक अनुष्ठान गरी मनोकामना पूर्ति हुने विश्वास राख्दछन्। सुरक्षाको दृष्टिले सिसिटिभी जडान तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको छ। जसले गर्दा भक्तजनहरू ढुक्क भएर दर्शन गर्ने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।

स्थानीय प्रशासन, पाथीभरा क्षेत्रविकास समिति र सुरक्षाकर्मीहरूबीचको समन्वय, स्वयंसेवकहरूको सक्रियता र स्थानीय जनसमुदायको साथले गर्दा गत वर्षहरुमा जस्तै यस वर्ष पाथीभरा यात्रा थप व्यवस्थित र सुरक्षित बनेको बताइन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*