दिनभर रुङ्दा पनि जोगिँदैन बाली, बाँदर आतंकले औलबाटै बसाइँ सर्ने धेरै

आनन्द गौतम
भदौ २१, २०८२

तालेजुङ — फुङलिङ नगरपालिका–३ का गीताप्रसाद पुरीले जन्मथलोमै बस्न अनेकौँ उपाय खोजे । घर वरिपरि र बेँसीको खेतमा मौसमी र बेमौसमी बाली लगाए । बाली जोगाएर उत्पादन लिन खेतबारीमै कटेरो (गोठ) बनाएर रुँगे । एकपछि अर्को विकल्पको खोजी गरे पनि केही उपाय प्रभावकारी बन्न सकेनन् । वन्यजन्तुको पीडा सहनै नसक्ने भएपछि अन्तिम विकल्पमा उनले बसाइँ सर्ने योजना बनाएका छन् । छरछिमेकी गए जस्तै तराईतिरै झर्ने या अन्त कतै गएर बस्ने भन्ने योजना बनाइरहेको उनले सुनाए ।

फुङलिङ–८ भेदाबारीका चैतन्यप्रसाद घिमिरे पनि यस्तै अन्योलमा छन् । भाँडीखोला क्षेत्रबाट आउने ढेडु बाँदरले हैरानी दिएपछि उनले अन्नबाली लगाउन कम गरेर लिची, आँप, कटहर जस्ता फलफूल रोपे ।

उत्पादन लिने बेलासम्म दाना बाँकी नहुन थालेपछि अन्तिम विकल्पको रूपमा लामपाते, बाँस जस्ता बिरुवा रोपे । ‘यिनलाई त बचाउन सकिएला भन्ने लागेको थियो । विडम्बना त्यो पनि सम्भव भएन,’ चैतन्य भन्छन्, ‘बाँसको बिरुवामै चढेर नुहाइदिन्छ । तामा भाँचिदिएर नयाँ बाँस हुर्कनै पाएन । टुप्पो किरिक्क भाँचिदिएपछि रुख अग्लो हुनै नपाउने रहेछ ।’ पुराना बाँस पाँच/सात वर्षमा पूरै मासिने अवस्थामा पुगेको उनले सुनाए ।

फुङलिङ नगरपालिकाका यी दुवैको पीडा ढेडु र बाँदरले दिएको हो । यस्तै पीडाका कारण जिल्ला सदरमुकाम रहेको फुङलिङ नगरपालिकाबाट वार्षिक २ सय ५० परिवारसम्म बसाइँ सर्ने गरेका छन् । नगरपालिकाको तथ्यांक शाखाका अनुसार २०७८ सालयता वार्षिक २ सय ४५ देखि ३ सय ३० परिवारसम्म बसाइँ सरेका छन् । ‘नगरपालिकाभित्र जति आएका छन् सदरमुकाममा व्यापार, व्यवसाय गर्ने उद्देश्यले भित्रिएका छन्,’ नगरकार्यपालिकाका प्रवक्ता मोहन न्यौपाने भने, ‘कृषि कर्म गर्ने मानिस त छोडेर हिँडिरहेका छन् ।’

मेरिङदेन गाउँपालिकाबाट फुङलिङ नगरपालिका–८ सल्लेरीका पूर्णबहादुर सुनुवारको जग्गा अधियाँमा कमाउन आएका मिङ्मा शेर्पा यसको उदाहरण हुन् । तुलनात्मक रूपमा सुविधा हुने अपेक्षासहित नगरपालिकामा सरेका उनको दिनचर्या बिहान उठेर खेतबारीको पुछारमा पुग्ने, दिनभर रुखको शीतलमा बसेर जनावर रुँग्ने, खाना, खाजा सबै खेतबारीमा खाने र साँझ परेपछि मात्र घर फर्कने भयो । मकैको सुत्ला र धानको बाला लागेपछि बाली नउठाउन्जेल खेतमै बस्नुपर्ने र एकदिन पनि बिराए बाली सखाप हुने भएकाले उनले यहाँ छोड्ने निर्णय गरिसकेका छन् ।-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*