वडा अध्यक्षलाई आक्रमण गर्नेहरु पक्राउ गरी कारवाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ आठराई गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ ।
आइतवार नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराईले गृहमन्त्री लेखकलाई भेटी तत्काल कारवाही गर्न लागि माग गरेपछि गृहमन्त्री लेखकले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी वडा अध्यक्षलाई आक्रमण गर्नेहरु पक्राउ गरी कारवाहीको दायमा ल्याउन निर्देशन दिएका थिए ।
वडाध्यक्ष सेन्दाङमाथि शनिबार बेलुका ताप्लेजुङ सदरमुकाम तोक्मेडाँडामा जिल्ला कमिटी बैठक सकेर गाउँ फर्कने क्रममा आक्रमण गरी घाइते बनाएका थिए । उनको झापास्थित विएनसी अस्पतालमा उपचार भइरहेको छ ।
सांसद भट्टराईले घटनाको निन्दा गर्दै आक्रमणमा संलग्नलाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्न तथा सर्वसाधारणको शान्ति सुरक्षामा खलल गर्ने अराजक गतिविधिमाथि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनको ध्यानाकर्षण गराएका छन् ।




















