ताप्लेजुङ गोल्डकपमा,ईटहरीको विजय शूरुवात

वेलकम खबर
साउन २४, २०८२

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आज देखि तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ गोल्डकप शुरु भएको छ । आज भएको उद्घाटन खेलमा द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङलाई २ – १ गोल अन्तरले पराजित गर्दै विजयको यात्रा सुरु गरेको हो ।

भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारबाट सुरु भएको उद्‌घाटन खेलमा विजय यात्रा सुरु गर्दै द योङ ब्रदर्श क्लब इटहरीले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गरेको छ । खेलको २६औं मिनेटमा आयोजकको तर्फबाट संजय श्रेष्ठले गोल गरेर टिमलाई अग्रता दिलाउनु भएको थियो ।
तर, खेलको ७०औं मिनेटमा द योङ ब्रदर्श क्लब इटहरीका निरज खड्का गोल गर्नुहुँदै टिमलाई बराबरीमा ल्याउन सफल हुनुभएको थियो । यस्तै खेलको ७४औं मिनेटमा द योङ ब्रदर्श कै योगन राईले गोल गर्दै टिमलाई २ – १को अग्रता दिलाउन सफल हुनुभएको थियो । यो सँगै द योङ ब्रदर्श क्लब इटहरीले विजयको यात्रा सुरु गरेको छ ।

यस्तै भोलि सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुनेछ । साउन २७ गते हुने क्वाटर फाइनलको अन्तिम खेलमा सलहेस युवा क्लब सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच भिडन्त हुँदैछ । भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ ।

क्वाटर फाइनल चरणका चार ओटा खेलहरूका लागि एक सय रुपियाँ, सेमिफाइनलमा दुई सय र फाइनलमा दुई सय पचास रुपियाँ टिकट दर निर्धारण गरेको छ । टिकट काटेर मैदान प्रवेश गर्ने दर्शकका लागि हरेक दिन गोलाप्रथाको माध्यमबाट एउटा स्मार्ट फोनको साथमा पावर बैँक र एयर बड समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

मैदानमा करिब ९ हजार बढी दर्शक व्यवस्थापनका लागि बाँसबाट निर्मित अस्थायी तथा स्थायी प्याराफिटहरु रहेका छन् । हरेक दर्शकको निगरानीका लागि यस वर्षदेखि मैदान आसपासका क्षेत्रमा सिसिटिभी समेत जडान गरिएका आयोजकको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*