ताप्लेजुङ गोल्डकप आजबाट सुरु,ताप्लेजुङ र सिलगढी उद्घाटन खेल खेल्दै
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण आजबाट ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुरु हुँदैछ ।
लाखेजात्राको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा खेल हुने भएको छ । आज दिउँसो २ बजे देखि हुने उद्घाटन खेलमा जिल्लाको प्रतिनिधित्व गर्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतले प्रतिष्पर्धा गर्दै छन् । उद्घाटन खेलमा संघर्षले अन्तर्राष्ट्रिय टिमसँग प्रतिष्पर्धा हुने हुनाले आजको खेल रोमाञ्चक हुने खेलप्रेमीको भनाई छ
आजको खेलमा विजेता बन्ने टिमले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँगको भिड्ने छ ।। प्रतियोगिताको विजेता नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
क्वाटर फाइनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यवस्था गरिएको छ । सेमिफाइनलमा २ सय र फाइनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बावजुत दर्शकका सुविधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सो कारण सबै दर्शकले टिकट काटेर खेल अवलोकन गरि सहयोग गरिदिनका लागि आयोजकले आग्रह समेत गरेको छ । आयोजित खेलमा ताप्लेजुङका एक सहित ८ ओटा टिमले सहभागिता जनाउँदैछन् । सहभागी टिमहरू ४ ओटा प्रदेशका ७ र बाँकी एउटा भारतको क्लब रहेका छन् ।



















