ताप्लेजुङका ७४ हजार नागरिक विपद्‌को जोखिममा

आनन्द गौतम
साउन ७, २०८१

ताप्लेजुङ्ग ।  जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जिल्लाका ७४ हजार नागरिक विपद्‌को जोखिममा रहेको बताएका छन् । त्योमध्ये सबैभन्दा बढी जोखिम बाढी पहिरोको रहेको उनको भनाइ छ ।

बाढी पहिरोले धनजनको क्षति गरिरहेको बेला प्रजिअ आचार्यले जिल्लाका ४१ वटा वडा जोखिमको सूचीमा रहेको बताए । जनगणना २०७८ अनुसार ताप्लेजुङको जनसंख्या १ लाख २० हजार ३ सय रहेको छ । एक नगरपालिका र आठ गाउँफालिका गरी नौ स्थानीय तह रहेको जिल्लामा ६१ वटा वडा छन् ।

स्थानीय तहले आफ्नो क्षेत्रको जग्गालाई वर्गीकरण गरेर बसोवास योग्य, खेती योग्य भनेर छुट्याउने र त्यसै अनुरूप व्यवस्थापन गरेपछि मात्रै विपद्को जोखिम कम हुने आचार्यको तर्क छ ।

‘हाम्रो अध्ययन अनुसार सबैभन्दा बढी बाढी पहिरो, त्यसपछि आगलागी, चट्याङ्ग, हावाहुरी लगायतबाट क्षति हुन्छ,’ आचार्यले भने, ‘हाम्रो बस्ती विकास संरचनागत रुपमा कस्तो बनाउनु पर्छ भनेर वैज्ञानिक ढंगले भएको छैन, स्थानीय तहले त्यो काम सुरु गरेका छन् र त्यसपछि मात्रै विपद् कम गर्न सकिन्छ ।’

यो वर्ष बाढी पहिरोबाट जिल्लामा पाँच जनाले ज्यान गुमाइसकेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्क अनुसार २८ घरमा पूर्ण क्षति भएको छ । ५१ घर उच्च र ८२ घर जोखिमम छन् । पशु चौपाया र पन्छी गरी डेढ सय बढीमा क्षति पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*