राजनीतिलाई बौद्धिकताले डोर्याउन नसकेकोमा राजनीतिक शास्त्रीहरूको चिन्ता
काठमाडौ । राजनीतिकशास्त्री प्रोफेसर कृष्ण खनालले राजनीतिमा सहभागी थोरैको हुने भए पनि यसबाट सबै प्रभावित हुने हुनाले राजनीतिलाई बौद्धिकताले डोर्याउनु पर्ने पर्ने बताएका छन् ।
उनले बीपी कोइरालापछि नेपाली राजनीतिलाई बौद्धिकताले डोर्याउन कसैले नसकेको बताए । शुक्रबार नेपाली काङ्ग्रेसका लागि संवाद केन्द्र टक सेन्टरले आयोजना गरेको राजनीतिमा बौद्धिक समुदायको सहभागिता विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेका राजनीतिक दलहरूले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने बौद्धिक रोज्ने गरेको तर, असहमति प्रकट गर्ने बौद्धिक व्यक्तिहरूलाई खास मूल धारमा आउन नदिने गरेको बताए ।
कार्यक्रममा बोल्दै प्रोफेसर डा.लालमणि पाण्डेले कौटिल्य शास्त्रको राजनीति र अर्थनीतिको स्मरण गर्दै वर्तमान राजनीति र अर्थनीति बौद्धिकताको अभावमा दिशाहीन बन्दै गएको जिकिर गरे । उनले प्राध्यापक शिक्षकहरू समाजका बौद्धिक व्यक्तित्व हुनाले उनीहरूलाई राजनीतिमा अंकुश लगाइरहनु नपर्ने भन्दै आफ्नै विवेक प्रयोग गर्न दिनुपर्नेमा जोड दिए ।
यस्तै लोकतान्त्रिक कानुन व्यावसायी सङ्घका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले राजनीतिक दलहरूले बौद्धिक समुदाय समेट्न नसकेको र ऐन मौकामा उपयोग मात्र गर्ने गरेको बताए । साथै, राजनीतिले जनतामा वितृष्णा बढेकाले बौद्धिक वर्गले दलहरूलाई स्वतन्त्र ढङ्गले सुझाव दिँदै बौद्धिकताको स्वतन्त्र विकास गर्नुपर्नेमा जोड दिए ।
यसैगरी डा. विष्णुप्रसाद पोखरेलले युरोप फ्रान्स लगायत कतिपय मुलुकमा बौद्धिक समुदायको राजनीतिमा प्रवेश भएपछि मात्र राजनीतिको विकास भएकाले नेपालमा पनि अब बौद्धिक वर्गबाटै राजनीतिको नेतृत्व गर्नुपर्ने बताए । डा. इन्द्रा अधिकारिले बौद्धिक व्यक्ति कसरी दलमा आवद्ध हुने भन्ने विषयमा दलहरू नै स्पष्ट हुनुपर्ने भन्दै राजनीतिक चेत बौद्धिक व्यक्तिहरूमा हुने हुँदा उनीहरूलाई दलीय करण गरेर पेसालाई नै दलहरूले समस्यामा पार्न नहुनेतर्फ ध्यानाकर्षण गराइन् ।
कार्यक्रममा बोल्दै डा. पिताम्बर भण्डारीले पेसाकर्मीहरू दलको शुभेच्छुकको रूपमा राजनीतिमा आवद्ध भएकामा प्रश्न उठेको बताए । पेसागत सङ्गठन र बौद्धिक वर्गलाई छुट्याइ बौद्धिक वर्गको राजनीतिमा कसरी प्रतिनिधित्व गर्ने भन्ने विषय जटिल भएको उनको भनाइ थियो ।



















