प्रचण्डले आफू अन्तिम प्रधानमन्त्री जसरी बोल्नु भयो : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा झुटो बोलेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतको छलफलमा बोल्दै भट्टराईले प्रचण्डले आवेग र सत्ताबाट बाहिरिनु परेको पीडा पोखेको बताए । उनले प्रचण्डले आफू अन्तिम प्रधानमन्त्री जसरी बोलेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीले आफू अन्तिम प्रधानमन्त्री जसरी बोल्नु भयो’, ‘भट्टराईले भने, ‘उहाँले संसदमा झुटो बोल्नु भयो ।’
सांसद भट्टराईले आगामी दिनमा दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न सफल नहुने बताएका छन् । उनले संविधान संशोधनमार्फत अग्रगमनको बाटोमा जाने बताए । भट्टराईले संविधान संशोधन सबैको सहभागितामा अग्रगमनका लागि गरिने धारणा राखे ।
‘संविधानमाथि कतिपय ठाउँबाट हमला भइराख्या छ । हामीले संविधानमाथि पुनरावलोकन गर्ने समीक्षा गर्ने भनेका छौं । प्रधानमन्त्रीलाई भन्न चाहन्छु, उहाँलाई आश्वस्त गर्न चाहन्छु यो संसद्मार्फत सम्पूर्ण नेपालीलाई हामी विश्वस्त गर्न चाहन्छौं संविधानको पुनरावलोकन, संविधान संशोधन २०७२ सालको संविधानको अग्रगमनको लागि हो । पश्चगमनको लागि होइन, पछाडि फर्किनका लागि होइन,’ उनले भने, ‘दलित, महिला, मधेसको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन, त्यो सफल हुने छैन ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहयोगमै संविधान संशोधन गर्नका लागि एमाले र कांग्रेस मिलेको भट्टराईको भनाइ थियो । ’प्रचण्डको सहयोग र सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौं । तपाईंलाई पनि अब जाने ठाउँ छैन । कहाँ जानुहुन्छ ? प्रतिरोध गर्नुहुन्छ ? विद्रोह हुन्छ ? अब सम्भव छैन त्यो बाटो छैन, तपाईं पनि यै हलभित्रै हो ।’
भट्टराईले प्रधानमन्त्री दाहाललाई सरकारबाट बाहिरिने क्रममा विभिन्न समुदायको याद आएको बताए । ‘जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित, महिला आज झल्झली प्रधानमन्त्रीलाई याद भयो । तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईंको लागि हतियार बोकेका तमाम दलित युवा कहाँ छन्, खोज्नु भो ? आज कसरी याद आयो एकाएक ?,’ उनले भने ।



















