राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आज (बुधबार) बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले आधिकारिक रूपमा निर्णय गरेरै आग्रह गरेको हो ।
‘सबैभन्दा ठूला दल कांग्रेस र एमालेले सँगै सरकार बनाउँछौँ भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ । त्यो निर्णयमा पनि समावेश छ । उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ गर्नुपर्छ,’ सभापति शेरबहादुर देउवाको बुढानिकण्ठस्थित निवासमा भएको बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘अरु दलको समर्थन घोषणा भइराख्या छ, यो चाहिँ नयाँ समीकरणमा । कार्यसम्पादन समितिले प्रधानमन्त्री ज्यूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।’
प्रधानमन्त्रीले मार्ग प्रशस्त नगरेको अवस्थामा संविधानको बाटोबाटै भएपनि नयाँ सरकार बन्ने प्रवक्ता महतको जिकिर छ । वैठकले पहिला नयाँ सरकारको नेतृत्व एमालेलाई गर्न दिने समेत कांग्रेसले निर्णय गरेको छ । यसअघि मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले पनि प्रधानमन्त्री दाहाललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । उता माओवादी केन्द्रको मङ्गलवारकै बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।



















