ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले ३ बर्षपछि पक्रियो
ताप्लेजुङ । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ।पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका ५ बस्ने ५३ वर्षीय फुर्पा दोर्ची भनिने फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमल कुमार लुंगेलीले जानकारी दिनुभयो ।
शेर्पा ज्यान मार्ने उद्योगमा २०७८ साल वैशाख २ गते अदालतबाट फैसला भई एक वर्ष कैद र १० हजार जरिवाना असुल गर्न बाँकी भई फरार रहेका थिए । गाउँघरमा नै लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दोभान र अस्थायी प्रहरी चौकी फाकुम्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।
फैसला कार्यान्वयनका लागि ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराइएको र बाँकी कैद जरिवाना भुक्तानीको लागि अदालतबाट कैद पुर्जी दिएर कारागार कार्यालय ताप्लेजुङ थुनामा पठाइएको सूचना अधिकारी लुङ्गेलीले बताउनुभयो । रेडियो ताप्लेजुङ