तमोर करिडोर कालोपत्रे गर्न सुरु

वेलकम खबर
असार ६, २०८१

त्रिदेशीय राजमार्गको रूपमा रहेको तमोर करिडोरको मूलघाट–गणेशचोक सडकखण्डको चौबीसे गाउँपालिकाअन्तर्गत फलामेटार–कुसेटार क्षेत्रमा कालोपत्रे सुरु गरिएको छ। हिमाली जिल्ला ताप्लेजुङबाट तराई जोडिएको तमोर करिडोर कालोपत्र गर्न सुरु भएको हो।

विराटनगरको रानी भन्सारदेखि धनकुटा–पाँचथर–ताप्लेजुङ हुँदै चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको तमोर करिडोर कालोपत्रे थालिएको हो। विराटनगरको रानी भन्सारदेखि ताप्लेजुङको ओलाङचुङगोलास्थित चीन र नेपालको नाका टिप्तालासम्म करिब २५५ किलोमिटर दूरीको उक्त सडक धनकुटाको फलामेटार–कुसेटार खण्डमा कालोपत्रे गर्न थालिएको हो।

पहिलो चरणमा धनकुटाको मूलघाटदेखि पाँचथरको भालुचोकसम्म ११२ किलोमिटरमा कालोपत्रे गर्न गत वर्ष ठेक्का लागेको थियो । सरकारले पर्याप्त बजेट नदिएपछि कालोपत्रेको काम सुरु गरिएको थिएन ।

निर्माण कम्पनी रौताहा क्षमादेवी जेभीले तमोर करिडोरको ११२ किलोमिटरमध्ये ६६ किलोमिटर कालोपत्रको जिम्मा पाएको छ । जसमा पहिलो चरणमा फलामेटार–सदामटार हुँदै मुर्कुटे–कुसेटारसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र गरिने तमोर करिडोर आयोजनाले जनाएको छ।

यो सडक पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न द्रुतमार्गका रूपमा निर्माण गरिएको हो । धनकुटाको मूलघाटदेखि भालुचोकसम्मको ११२ किलोमिटर सडक कालोपत्रेका लागि ०७९ कात्तिकमा चार अर्ब १६ करोड रुपैयाँमा ठेक्का लागेको थियो। करिडोरको मूलघाटदेखि नावाखोलासम्मको २८ किलोमिटर कालोपत्रको चरणमा छ। तमोर करिडोरको ६६ किलोमिटर सडकको काम तीन वर्षमा पूरा गर्ने सम्झौता भएको हो।

भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्न सरकारले ०६५ सालमा १० लाख बजेट विनियोजन गरेर आयोजना सुरु गरेको थियो । त्यसपछि धनकुटाको मूलघाटदेखि सुभाङसम्म ०६६ सालमा ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको हो।

आयोजनाका आनुसार अहिले ४४ किलोमिटर सडकमा नाली निर्माणको कार्य सकिएको छ। तोकिएको समयभित्र फिदिमसम्म कालोपत्र कार्य सक्ने आयोजनाले जनाएको छ । यो सडक पूर्वी पहाडी जिल्लाको  आर्थिक समृद्धिसँग जोडिएको छ । तमोर करिडोरमा चार अर्ब १६ करोडमा दुईवटा कम्पनीले ठेक्का लिएका छन्। रौताहा क्षमादेवी जेभी र एपेक्स कम्पनीसँग ठेक्का सम्झौता गरेको तमोर करिडोर सडक आयोजनाले जनाएको छ।

मूलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेभीले दुई अर्ब ४० करोडमा र बाँकी खण्ड एपेक्स कम्पनीले एक अर्ब २४ करोडमा ठेक्का सम्झौता गरेका हो।

पूर्वीपहाडी तथा हिमाली जिल्लासँग दूरी छोटिने
तमोर करिडोर सञ्चालनमा आएपछि पूर्वीपहाडी जिल्ला र तराईबीचको यात्रादूरी धेरै घट्नेछ। करिडोर निर्माणपछि पाँचथरको फिदिमदेखि धरान झन्डै तीन घण्टामा पुग्न सकिन्छ भने ताप्लेजुङदेखि झन्डै पाँच घण्टामा पुगिनेछ।

यसैगरी, ताप्लेजुङबाट धरानको दूरी झन्डै १९० किलोमिटरमा खुम्चिने बताइएको छ। अहिले यहाँका नागरिक इलाम, झापा र मोरङ हुँदै झन्डै ३५० किलाेमिटर दूरी पार गरेर धरान पुग्ने गरेका छन्। नयाँ पत्रिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*