ताप्लेजुङको तापेथोकमा सिसेवाखोलाको बाढीले बनायो तमोर नदीमा ताल , ४ वटा काठेपुल बगे
ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका–५ तापेथोकमा बुधबार रातिदेखि बिहीबार सम्म परेको बर्षाको कारणले आएको बाढीले तमोर नदीमा ताल बनाएको छ। तमोर नदी आंशिक थुनिएको गाउँपालिका अध्यक्ष मुक्ति लिम्बुले बताउनुभयो । अत्याधिक बर्षाका कारण आएको बाढी पहिरोले सिंसेवा खोलामा सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको काठेपुल, सिस्ने खोलाका दुई वटा र तावा खोलाको एउटा पुल बगाएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ।
ताल एकै चोटी खोलियो भने तल्लो क्षेत्र प्रवाभित हुन सक्ने संभावना रहेको अध्यक्ष लिम्बुले बताउनुभयो । लिम्बुका अनुसार बाढीसँगै आएको पहिरो तापेथोक बगरमा थुप्रिएपछि तमोरमा ताल बनेको छ यसले त्रास बढाएको छ । अहिले नदीबाट अलिअलि पानी बगिरहेको उनको भनाइ छ। तमोर तटिय क्षेत्रका बासिन्दालाई गाउँपालिकाले सुचना जारी गरेर बाढी पहिरोबाट बच्न सर्तक रहन आग्रह गरिसकेको अध्यक्ष लिम्बुले बताउनुभयो । बाढीले चार वटा काठेपुल बगाउँदा सदरमुकाम फुङलिङसँग गाउँपालिकाको सडकसम्पर्क विच्छेद भएको छ। सिंसेवा खोलामा सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको पुल, सिस्ने खोलाका दुई वटा र तावा खोलाको एउटा पुल बगाएको अध्यक्ष लिम्बुले बताउनुभयो ।



















