ताप्लेजुङका ग्रामीण सडकमा यात्रुलाई सधैँ सास्ती
ताप्लेजुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेका छन्। जिल्लाका ग्रामीण क्षेत्रमा जाने कुनै पनि सडक कालोपत्रे भएका छैनन्। बर्खा सुरु हुन लागेसँगै नागरिकको सास्ती फेरि सुरु भएको छ।
वार्षिक तीन लाखभन्दा बढी तीर्थयात्री यात्रा गर्ने पाथीभरा सडकसमेत अहिले हिलाम्मे छ। दुई वर्षअघि कालोपत्रेका लागि ठेक्कामार्फत काम गर्न ठेकेदार कम्पनीलाई दिए पनि काम नगर्दा सडक उस्तै हिलाम्मे भएको छ।
सडक हिलाम्मे हुँदा घण्टौँ सवारी फस्ने र जाम हुने गरेको छ। हिउँदमा एक–डेढ घण्टामा पार हुने सुकेटारदेखि पाथीभराको कफ्लेपाटीसम्मको १५ किलोमिटर सडक बर्खामा तीन घण्टासम्म लाग्छ। जिल्लाका नौ स्थानीय तहमध्ये फुङलिङ नगरपालिका जिल्ला सदरमुकाम हो। तर, अन्य आठ स्थानीय तह भने ग्रामीण क्षेत्रमा भएका कारण यहाँका कुनै स्थानीय तहसम्म कालोपत्रे सडक छैन।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको मैवाखोला गाउँपालिकाको केन्द्र साँघु कोशी राजमार्गअन्तर्गत मदन भण्डारी राजमार्गले समेत जोडेको छ। धरान, धनकुटा, वसन्तपुर, गुफा हुँदै साँघुबाट जिल्ला सदरमुकाम जोड्ने मदन भण्डारी राजमार्गको यात्रा निकै कष्टकर यात्रा गर्नुपर्ने यात्रुहरूको गुनासो छ। सडक दुर्घटनाको जोखिम मोलेर यात्रुहरू यात्रा गर्न बाध्य छन्।
जिल्ला सदरमुकामबाट आठराई त्रिवेणी गाउँपालिका जान दोभान हुँदै हाङपाङ पुग्ने बाटो नाम मात्रको छ। स्थानीय तहमा बजेटको अभावका कारण सडक मर्मत गर्न नसकेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय वनेमले बताए। साधारण मर्मत गर्न मात्र सक्ने अवस्थामा रहेको बताउँदै अध्यक्ष वनेमले मदन भण्डारी राजमार्ग भने स्थानीय तहबाट मर्मत गर्न नमिल्ने भएकाले धरै हिलो र धुलो हुने बताए। ‘हामीले मर्मत गरे डुब्लिकेसन हुन्छ भनेर विरोध आउने गरेको छ,’ उनले भने।
ताप्लेजुङका सडकहरू भौगोलिक कारणले भिरालो पहाडमा भएका कारण बर्खामा सडकमा पहिरो जाने हुँदा ज्यान हत्केलामै हालेर यात्रा गर्न बाध्य भएको चालकहरूको गुनासो छ। हिउँदमा २५ मिनेटमा पार हुने सडक बर्खामा दुई घण्टासम्म लाग्ने गर्छ।
ताप्लेजुङ बजारदेखि मेरिङदेन गाउँपालिकाको केन्द्र सान्थाक्रासम्मको सडक भने अहिले थोरै भए पनि कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको अध्यक्ष युकाहाङवीर लिम्बू (डम्बर)ले बताए। बर्सेनि बजेट छुट्याएर दोभानदेखि करिब १० किलोमिटर बाटो कालोपत्रे गरिने उनी बताउँछन्।
उता, मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवा (थलङ) पुग्ने सडकहरू पनि वर्षामा बिग्रिने गरेका छन्। अप्ठ्यारो घुम्ती तथा सवारी फस्ने स्थानमा ग्राभेल, ढलान र कतै नाली निर्माण भएका छैनन्। जिल्लाको सबैभन्दा टाढा रहेको सिरिजंघा र सिदिङ्वा गाउँपालिका जाने बाटो झनै यात्रा गर्नै नसकिने गरी बिग्रिने गरेका स्थानीय यात्रुहरू बताउँछन्। सिदिङ्वा गाउँपालिकामा सधैँ यात्रु लिएर दैनिक हिँडिरहेका प्रेम राईले अत्यन्तै बिग्रिएको र यात्रुलाई लिएर हिँड्न कठिन हुने बताए।
‘सवारी कहाँ फस्छ, कतिवेला बिग्रन्छ भन्ने टुंगाे छैन। सिदिङवाको साब्लाखु पुग्नका लागि बर्खामा निकै जोखिम मोलेर सवारी चलाउनुपर्छ, सडकको धेरै स्थानमा पानीको निकास नहुँदा सवारी साधन फस्ने र चिप्लने गरेका छन्,’ राईले भने, ‘यो सडकमा, दुई–तीन घण्टासम्म सवारी फस्ने गरेको छ, बर्खाको तीन–चार महिना सवारी चलाउनै मुस्किल छ। हिउँदमा अलि सहज हुन्छ। तर, धुलोले पुरिन्छ।’
जिल्लामा बर्खाको समय अधिकांश ग्रामीण सडक पहिरोका कारण बन्द हुँदै आएका छन्। स्थानीय तहले समय–समयमा बन्द सडक खुलाउँदै आए पनि निकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। फक्ताङलुङ गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिकातर्फका सडकमा सावारीसाधनहरू वेलावेलामा दुर्घटनासमेत हुँदै आएका छन्। नयाँ पत्रिका



















