सदस्यता सम्वन्धी निर्णय नसचिए सम्म पत्रकार महासंघको निर्वाचन अघि नबढाउने पत्रकार महासंघ ताप्लेजुङको निर्णय
ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले केन्द्रीय समितिले पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएकाहरुलाई सदस्यता दिलाउने तथा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारको नामावली हटाएको भन्दै यो निर्णय नसचिएसम्म निर्वाचन कार्यक्रम अघि नबढाउने निर्णय गरेको छ ।
सोमवार बसेको शाखाको बैठकले सामाजिक सञ्जालहरुमा सार्वजनिक सदस्यता सम्वन्धी नामावलीको आधिकारिकता माग गर्दै उक्त नामावली आधिकारिक भए त्यो निर्णय पूवाग्रही र शुद्धिकरणको मर्म बिपरित भएको निश्कर्ष निकालेको शाखा अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभयो ।‘पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएकाहरुको सदस्यता कायम भएर आएको छ,क्रियाशिल रहेकाहरुको सदस्यता कटौति गरिएको छ’शाखा अध्यक्ष गौतमले भन्नुभयो‘यस्तो पूवाग्रही निर्णय मान्य छैन’। गौतमले केन्द्रीय समितिका नाममा ताप्लेजुङ जिल्लाका हकमा जारी भएको सदस्यता सम्वन्धी भएको उक्त निर्णय नसचिएसम्म जिल्ला शाखाको निर्वाचनका कार्यक्रम अघि नबढाउने निर्णय भएको बताउनुभयो । पत्रकार महासंघको केन्द्रीय महाधिबेशनले जेठ २६ गते केन्द्र,प्रदेश र जिल्ला शाखाको एकैपटक निर्वाचन कार्यक्रम हुनेगरी कार्यतालिका घोषणा गरेको थियो । पछिल्लो व्यवस्था अनुसार पत्रकार महासंघमा प्रत्यक्ष निर्वाचन प्रणाली कायम छ ।
साधारणसभा निर्वाचन अघि नै सम्पन्न गरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रममात्र हुने व्यवस्था पत्रकार महासंघमा कायम रहेको छ । शुद्धिकरणका नाममा सक्रिय पत्रकारको नाम हटाई पत्रकारिता क्षेत्रमा नभएकाहरुको नामावली समावेश गरिनु औचित्यहीन,पूवाग्रही र एकलौटीपूर्ण निर्णय रुपमा शाखाले ठम्याएको गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार शाखाको उक्त निर्णय पत्रकार महासंघको केन्द्रीय र प्रदेश समितिमा समेत पठाइएको छ । यसैबीच प्रेस चौतारी नेपाल ताप्लेजुङले पनि पत्रकार महासंघको सदस्यता सम्वन्धी निर्णयमा पत्रकार महासंघको केन्द्रीय समिति पूवाग्रही बनेको बताएको छ । प्रेस चौतारीका जिल्ला उपाध्यक्ष मदन गौतम र सहसचिब गंगा लिङ्खिमले सोमवार विज्ञप्ति जारी गर्दै सक्रिय पत्रकारलाई हटाएर अहिले सम्म पत्रकारिता क्षेत्रमा नरहेकालाई सदस्यता दिएको भन्दै आपत्ति जनाएको छ । सार्वजनिक भएको सूचीमा आफ्नो संगठनलाई विश्वास नलागेको भन्दै शुद्धिकरणका नाममा सक्रिय पत्रकार माथि कैंची चलाएर पत्रकारिता क्षेत्रमा नभएकालाई सदस्यता दिनु बद्नियतपूर्ण,पूवाग्रही र प्रतिशोधको रुपमा आंैंल्याएको छ । प्रेस चौतारीले सार्वजनिक भएको सूची सहि हो भने त्यो कार्य गलत भएको निश्कर्ष सहित उक्त सूची तत्काल सच्याउन र अन्यथा उक्त कदमको बिरोधमा चरण्बद्ध आन्दोलनमा जाने घोषणा समेत गरेको छ । रेडियो ताप्लेजुङ



















