सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ: योगेश भट्टराई

‘कांग्रेस र एमाले मिलेर सरकार चलाउनका लागि समय बितिसक्यो’
वेलकम खबर
बैशाख २२, २०८१

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएका छन्।

सत्ता साझेदार दलहरुबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उनले बताए।
आज पत्रकार महासंघ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले उक्त प्रतिबद्धताअनुसार दलहरु अघि बढ्ने विश्वास व्यक्त गरे।
छिमेकी देशहरुमा तीव्ररुपमा विकास भइरहेकाले उनीहरुलाई पछ्याउनका लागि पनि वर्तमान सरकार टिकाई राख्नुपर्ने उनको भनाइ छ।
कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए पनि त्यसका लागि समय बितिसकेको उनले बताए।
वर्तमान सरकारलाई समर्थन गर्नुअघि मुलुकको बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न नेपाली कांग्रेससँग छलफल गर्न खोजेको तर कांग्रेसले तत्परता नदेखाएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णयमा पुगेको उनको भनाइ थियो।
उनले सत्तामा सामेल ठूलो दल एमालेले सरकारको नेतृत्वलाई सजिलो बनाउने र असन्तुष्ट दलहरुलाई सन्तुष्ट बनाएर अघि बढ्ने बताए। कतिपयले अहिलेको समीकरणलाई वामपन्थी एकता वा ध्रुवीकरण भनेपनि त्यो नभएको स्पष्ट पारे।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी विवादमा परेको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको सन्दर्भमा उहाँले संसदीय छानबिन समिति अन्तिम हतियार भएकाले तत्काल प्रयोग गर्न नहुने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*