एमाले अध्यक्ष ओलीले भने– इलामका मतदातालाई धन्यवाद

इलाम– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा निर्वाचित सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित उनले सुहाङलाई बधाई दिएका हुन् ।
उनले लेखेका छन्, ‘इलामका मतदातालाई धन्यवाद !! मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ–कति भोटले जितिन्छ ? सुहाङ्ले भन्नु भएको थियो–इलामेली जनतालाई सोध्नु पर्छ । आज अन्तिम परिणाम आयो–५,८३० मतान्तरले जित भयो । हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवालाई अझ अगाडि बढाउँदै जाने छ ।’
विजयोत्सव मनाउन अध्यक्ष ओली आज इलाम आउँदै
इलाम क्षेत्र २ को उपनिर्वाचनमा आफ्नो पार्टी विजयी भएपछि उनी विजयोत्सव मनाउन आज इलाम आउँदै छन् ।आज दिउँसो हुने विजयसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली इलाम आउने एमालेले जनाएको छ ।दिउँसो १ बजे इलाम चोकबजारमा आयोजना गरिने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने एमाले जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए ।
गत शनिबार इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उपनिर्वाचन भएको थियो । जसमा, नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुहाङ निर्वाचित भएका छन् । सोही क्षेत्रबाट निर्वाचित उनका बुबा एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि उक्त क्षेत्रको पद रिक्त थियो ।