उपनिर्वाचनको तयारी पूरा, भोलि बिहान ७ बजे मतदान सुरु
इलाम । भोलि (वैशाख १५ मा) हुने इलाम क्षेत्र २ कोे उपनिर्वाचनका लागि तयारी पूरा भएको छ ।
कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबै किसिमका तयारी गरेका छन् । भोलि बिहान ७ बजे मतदान सुरु हुनेछ । साँझ ५ बजेभित्र मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउनेछन् ।
इलाम २ का एक सय ४९ मतदान केन्द्रमा स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई लाइन राख्ने ठाउँलगायत सबै तयार भइसकेको छ । मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए ।
हरेक मतदान केन्द्रमा सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा पुगिसकेका छन् । सबै मतदान केन्द्रलाई ‘अति संवेदनशील’मा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि ‘विशेष व्यवस्था’ अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन जनाइएको छ ।
भोलि छ पालिकाका ४२ वडामा मतदान हुन लागेको हो । यसपटकको निर्वाचनमा इलाम २ मा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।



















