ताप्लेजुङको मैवाखोलामा कक्षा आठ उत्रिण गर्ने ५ जना मात्रै
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये पालिका स्तरीय वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।
पालिकामा रहेका आठवटा विद्यालयबाट १७८ जना विद्यार्थी यसवर्षको वार्षिक परीक्षामा सहभागी भएका थिए । मैवाखोला गाउँपालिकाले कक्षा ८ को बार्षिक परीक्षा केन्द्रीकृत गरि सञ्चालन गरिएको थियो ।
पालिका अध्यक्ष वनेमका अनुसार गाउँपालिका बाहिरका विषय विज्ञ ल्याएर प्रश्नपत्रहरु तयार पारेर कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गरिएको र उत्तरपुस्तिका पनि पालिका बाहिरकै शिक्षकबाट मूल्याङ्कन गराउँदा पाँच जनाले मात्र सबै विषय उत्तीर्ण गरेको पाइएको छ ।
आठमध्ये चारवटा विद्यालयबाट एकजना पनि विद्यार्थी उत्तीर्ण नभएको र नतिजा शून्य आएको चारमध्ये दुईवटा विद्यालयका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा लेख्ने मौका पनि नपाउने भएका छन ।
आइतबार पालिकास्तरीय परीक्षा समितिको बैठक बसी नतिजाको विश्लेषण गरेको गाउँपालिकाले जनाएको छ । समितिको बैठकले दुई विषयसम्ममा नन्ग्रेड अङ्क ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धिका लागि मौका परीक्षा गराउने निर्णय भएको छ । ग्रेडवृद्धिको मौका परीक्षा २०८१ बैशाख १० गतेदेखि सञ्चालन हुने पनि गाउँपालिकाले जनाएको छ ।
यस बर्षको कक्षा ८ को बार्षिक परिक्षाको नतिजाले सामुदायिक विद्यालयको अवस्था छर्लङ्ग बनाएको र विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शिक्षासग सरोकार राख्ने निकाय गम्भीर हुनु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।



















