ताप्लेजुङको समृद्धिको लागि पाथीभरामा केवलकार बनाऔ : निजी क्षेत्र

वेलकम खबर
चैत्र १, २०८०

ताप्लेजुङ । ताप्लेजुङका निजी क्षेत्रले पाथीभरा मुकुम्लुङ केवलकार निर्माण सम्बन्धमा साझा धारणा सार्वजनिक गरेको छ ।
विहिवार एक सयुक्त प्रेस विज्ञप्ती प्रकाशित गदै उद्योग वाणिज्य संघ,होटल ब्यवसायी संघ र निर्माण व्यवसायी संघले भनेको छ । ताप्लेजुङको अहोभाग्यको रुपमा स्थापित पाथीभराू मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर हो । सबै धर्म र जातजातिको आस्थाको केन्द्रका रुपमा रहेको यस शक्तिपिठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरुबाट समेत त्यँहाका धेरै सम्प्रदायका नागरिकहरु दर्शन तथा पूजाका लागि आउने गरेको तथ्य हामी सबैमा सर्वविद्रतै छ । विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको हामीले प्रत्यक्षरुपमा अनुभूत गरेका छौ। अहिले पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब ३ लाखको संख्यामा भक्तजनहरु आउने गरेको तथ्यांकहरुले बताईरहेको छ ।
यो संख्यामा गुणात्मक बृद्धि गरेर ताप्लेजुङमा व्यवसायिक अवसरहरुको सिर्जना गर्नु अत्यन्तै जरुरी छ र यो अवश्यम्भावी पनि छ। यता तिरको हाम्रो व्यवसायिक यात्राले मात्र जिल्लाको अर्थतन्त्र चलायमान भई थुप्रै रोजगारीको अवसरहरु सिर्जना हुनेछ । यस सन्दर्भमा अरबौ रुपैयाको लगानीमा निर्माण हुने चरणमा रहेको पाथीभरा मुकुमलुङ केवलकारले यस जिल्लाको आर्थिक विकासमा ठूलो योगदान दिने कुरामा दुईमत हुनै सक्दैन।
यसबाट स्थानीय स्तरमा रोजगारी तथा स्वरोजगारीको सिर्जना गर्ने, जिल्लाको पर्यटन प्रवर्धनमा अझ फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकिय क्षेत्रहरुको विकास र प्रवर्धनमा सहयोगी हुने निश्चित रहेको उल्लेख गरेको छ ।
यस्ता गौरवको योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूति सहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्ने आम नीजी क्षेत्रको बुझाइ छ। यसर्थ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको उपयुक्त वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा एउटा ईटा थप्न ताप्लेजुङ जिल्लाको निजी क्षेत्रको  प्रतिनिधिमूलक संस्थाहरुका तर्फबाट हामी सबै सम्बद्ध पक्षसंग हार्दिक अपिल गरेको जनाएका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*