इलाममा सक्रिय सुहाङ

वेलकम खबर
फाल्गुन २४, २०८०

एमालेले सुहाङलाई उम्मेदवार बनाउने अनुमान धेरैको छ । यो अनुमानलाई सहयोग पुग्ने गरी पछिल्लो समयमा सुहाङ इलाममा सक्रिय छन् । इलाममा ढुक्क गरी बसेर अनौपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भइरहेका छन् भने भेटघाट र अन्तरक्रियालाई तिव्रता दिएका छन्

इलाम : नेकपा (एमाले)का तात्कालिन उपाध्यक्ष तथा संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि खाली इलाम निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ । नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुदैछ ।

उपनिर्वाचनको मिति तोकिएसँगैे सुवासचन्द्र नेम्वाङको छोरा सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा (एमाले)ले सुहाङलाई उम्मेदवार बनाउने अनुमान धेरैको छ । यो अनुमानलाई सहयोग पुग्ने गरी पछिल्लो समयमा सुहाङ इलाममा सक्रिय छन् । इलाममा ढुक्क गरी बसेर सुहाङले भेटघाट र अन्तरक्रियालाई तिव्रता दिएका छन् । पछिल्लो एक साता यता पेशाले अधिवक्ता सुहाङ दर्जनौं भेटघाट र कार्यक्रममा सहभागी भएका छन् । औपचारिक कार्यक्रमहरुमा पनि सहभागी भइरहेका छन् ।

Suhang Nembang Ilam

पछिल्लो सातादेखि आफू इलाममा रहेको सुहाङले बताए । उनले भने, ‘हो, पछिल्लो एक सातादेखि म यतै इलाममा छु । भेटघाट, अनौपचारिक अन्तरक्रिया र कार्यक्रमहरुमा सहभागी पनि भइरहेको छु ।’ कान्तिपुर ल एशोशिएट्स सञ्चालन गरेर वकालत गदै आएका सुहाङ अड्डा जमाएर इलाम बस्नुले पनि उनीले टिकट पाउने अनुमान धेरैले गरेका छन् ।

यद्यपि आफ्नो भेटघाट र कार्यक्रम चुनाव केन्द्रित भने नभएको दाबी गरे । उनले भने, ‘बुवाको निधनपछि औपचारिक कार्यक्रमहरुमा सहभागी हुन आएपनि यहाँका आदरणीय अभिभावक, प्रियजन र शुभेच्छुकहरुसँग समय लिएर नजिकबाट संवाद गर्ने गरी आएको थिइँन । यसपाली संवाद गरौं अनि बुवालाई माया र सम्मान गर्ने सबैलाई धन्यवाद समेत भनौं भनेर पनि आएको हुँ । त्यसैगरी रहेको छु ।’

Suhang Nembang Ilam Nembang
प्रथम इलाम सामुदायिक कृषि क्याम्पसमा आयोजित भलिबल प्रतियोगिताका खेलाडीहरुसँग

सुहाङ सामाजिक, खेलकुद र सांस्कृतिक कार्यक्रम मात्रै होइन राजनीतिक गतिबिधिहरुमा सक्रिय रुपमा सहभागी छन् । गत २१ फागुनमा इलामदेखि झापाको सुखानी पुगेका थिए । सुखानी स्मृति दिवसको दिन उनले इलामबाट झापा पुगेर नै सहिदहरुप्रति सम्मान प्रकट गरेको थिए ।

सुखानी दिवसको दिनमा उनले लेखेका छन्,‘आज २१ फागुन । सुखानी स्मृति दिवस । वि.सं २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन ‘झापा विद्रोह’का पाँचजना आदरणीय नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती सरकारले सुखानीको जंगलमा क्रुर हत्या गरेको थियो । आज महान् सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्नका लागि इलामबाट सुखानी आइपुगेको छु । उहाँहरुको बलिदानको जगमा हाम्रो वर्तमान उभिएको छ । फेरि एक पटक उहाँहरुले देख्नु भएको उज्यालो सपना पुरा गर्ने संकल्प गरौं ।’

Suhang Nembang Ilam Program

सुहाङले इलाममा हुने सबैजसो कार्यक्रम, प्रतियोगिता र सार्वजनिक बिषयमा निरन्तर बोल्न र लेख्न थालेका छन् । यी सबै गतिबिधि हेरेर इलामका स्थानीयबासीहरुले सुहाङ उम्मेदवार बन्ने चर्चा सुरु गरेका हुन् ।

सुहाङले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस अगाडि उभिएको तस्बिर हाल्दै इलाममा सक्रिय रहने संकेत गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व सभापतिहरुको तस्बिर पनि सेयर गर्दै लेखेका छन्, ‘कुनै बेला पूर्वाञ्चल कै शैक्षिक केन्द्र थियो, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम । बुवा (संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ) ले राजनीतिक यात्रा गर्नुभएको क्याम्पस । बुवा यही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति (२०२९–२०३१) हुनुहुन्थ्यो । आज (२३ फागुन २०८०) बुवाले राजनीतिक यात्रा आरम्भ गर्नुभएको क्याम्पसमा पुगेँ । सबैलाई थाहा छ, इलाम प्रकृतिको राजधानी हो । प्राकृतिक हिसाबले सुन्दर ठाउँमा उच्च शिक्षा लिने रहर जो कसैको हुन्छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसलाई बहुआयमिक रुपमा स्थापित गरेर शैक्षिक केन्द्रको रुपमा अझ विकास गरौं ।’

Sukhani
२१ फागुनमा सुखानी स्मृति दिवसमा

त्यसो त सुहाङ यसअघि देखि नै इलाममा सक्रिय थिए । खेलकुद लगायतका सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागी थिए । इलामलाई केन्द्र बनाएर फुटबल क्लब ‘स्पोर्टिङ इलाम दी मेची’ उनले बुवा छदै बनाएका थिए । उनी ‘स्पोर्टिङ इलाम दी मेची’का अध्यक्ष हुन् । एक साताअघि देखि इलाममा रहेको सुहाङले अब निरन्तर इलाममा रहने योजना बनाएका बताए । उनले भने, ‘केही दिनका लागि काठमाडौंमा फर्किनुछ । काम सक्न साथ इलाम फर्किन्छु ।’

Jhapa Suhang
२१ फागुन : सुखानी स्मृति दिवसमा

बुवा जस्तै भाका र भाषा मिलाएर बोल्ने सुहाङले विनम्र, सरल र बौद्धिक छवि बनाएका छन् । यसअघि कुनै पदमा बसेर राजनीतिमा सक्रिय नभएपनि उनीले बुवालाई साथी र सहयोगीमा रुपमा सहयोग गर्दै आएका थिए । २ असोज २०८० मा इलाममा आयोजित सुवास नेम्वाङको श्रद्धाञ्जली सभामा सम्बोधन गरे यता नै सुहाङलाई राजनीतिमा ल्याउनुपर्छ भनेर युवाहरुले इलाममा अभियान चलाएका थिए । परिवारका तर्फबाट बोलेका सुहाङको बोलीमा सुवास नेम्वाङको शैली भेटिएको चर्चा भएको थियो ।

सुहाङ आफू चुनावको तयारीको लागि नआएको दाबी गरेपनि यही उपनिर्वाचनमै सुहाङले टिकट पाउने सम्भावना रहेको नेकपा (एमाले)का एक पदाधिकारीले बताए । ‘सबै हिसाबले सुहाङ बलियो उम्मेदवार हो । युवाको प्रतिनिधि, बौद्धिक छवि, जनजाति र सुवासकै छोरा भएकाले पनि सुहाङ बलियो उम्मेदवार हुन् ।’

इलाम–२ मा २०५६ सालयता सधैं सहज जित निकालेका सुवास नेम्वाङले गत वर्ष ११४ मतको झिनो अन्तरले मात्रै प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई हराएका थिए । सत्ता गठबन्धनमा रहेका अरु दलको समेत समर्थन पाएका खड्काले २९ हजार ९०६ मत ल्याउँदा सुवासले ३० हजार २० मत पाएका थिए ।-nayapage

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*