कांग्रेसका २२ नेताले आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै

वेलकम खबर
फाल्गुन ५, २०८०

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरूले आज .शनिबार) सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो ।

अभियानका सहसंयोजक एवम् प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसका २२ नेताले पार्टी हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै पूरक प्रस्ताव दर्ता गराएका छन् । यसमा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कार्यसमितिका सभापतिहरू छन्, जो अधिकांश सभापति देउवा पक्षधर नेताहरू नै हुन् ।

उनीहरूले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा कांग्रेस उभिनुपर्ने अडान राखेका छन् । केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति शेरबहादुर देउवालाई उक्त प्रस्तावपत्र बुझाएका थिए। जसमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीता कुमारी, दिलेन्द्र बडु, डा. डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमा चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादव पनि छन् । प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभापतिहरूमा बाग्मतीका इन्द्रबहादुर बानियाँ र गण्डकीका शुक्रराज शर्मा समेत छन् ।

‘कांग्रेस जस्तो व्यापक जनाधार भएको प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दु धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधार, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिनु ठिक थिएन,’ उनीहरूले भनेका छन् ।

उनीहरूले वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्न त्रिवेणी धाम र काठमाडौँमा भएको महासमिति बैठकका बहुमत महासमिति सदस्यहरूले प्रस्ताव राखेको पनि नेतृत्वलाई सम्झाएका छन् । उनीहरूले ७ फागुनदेखि हुने महासमिति बैठकका लागि उक्त प्रस्ताव अगाडि सारेका हुन् ।

हुन त कांग्रेसमा संविधानले लिएको धर्मनिरपेक्षताको बाटोप्रति असन्तुष्ट जमात पहिलादेखि थियो । २०६३ मा अन्तरिम संविधान जारी हुँदादेखि नै सुषुप्तरूपमा यसको विरोध हुँदै आएको हो । तर, तत्कालीन अवस्थामा नरहरि आचार्य, गगन थापालगायत परिवर्तन पक्षधर धारका नेताहरूको सशक्त खबरदारीले कांग्रेस पछाडि फर्कन पाएन ।

congress hindurastra.png

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*