भानु स्कुल स्थापना र यसको पृष्ठभूमि !
नेपाली र संस्कृतको पढाइ भने ताप्लेजुङमा धेरै अगाडिदेखि धुले शिक्षा तथा गुरुकुल शिक्षाको रुपमा चलिरहेको थियो । १९९३ सालमा पूणर् सरकारी खर्चमा स्थापित भाषा पाठशाला हालको वीरेन्द्रचोकमा सन्चालनमा थियो । यसैबिचमा काठमाडौ सितापाइलाका च्यान्टा गुरु १९९८ सालमा ताप्लेजुङ पुगे । च्यान्टा गुरुले १९९८ सालदेखिनै ठानाछेउको सानो पाटीमा बसेर पढाउन थाले ।
२००७ सालको क्रान्तिको पुर्वसन्ध्यामा ताप्लेजुङमा आधुनिक शिक्षाले प्रवेश पाएको देखिन्छ । गणेश बहादुर श्रेष्ठ (मन्सी) १९९८ सालमा कलकत्ताबाट आइ.ए. पास गरेर ताप्लेजुङ आइ २००२ सालमा ताप्लेजुङ अमिनीको मुन्सी पदमा जागिरे भए । गणेशबहादुर ताप्लेबाट एसएलसी र आइ ए गर्ने पहिलो व्यक्ति मानिन्छ । त्रिचन्द्र कलेजबाट आइ एस्सी पास गरी भक्तपुरका रत्नमान श्रेष्ठ २००२/३ सालतिर हावापानीको जाँचकी भएर ताप्लेजुङ बजार पुगे । रत्नमान र गणेशबहादुरले २००३ सालदेखि आफु बसेको ठाउँमा अंग्रेजी सहितको पढाइलाई अगाडि बढाए । यसैगरी २००३/४ सालमा चाँगेमा ढुंगेसाँघुका ….. थोप्राले अंग्रेजी सहितको शिक्षा दिन थाले । दार्जिलिङबाट मेट्रिकसम्म पढेका लैनछोकडा (लाहुरेबाबुको छोरा) …. थोप्राले चाँगे गाउँमा पढाइरहेकै थिए । अचानक करिब ३० वर्षकै उमेरमा २००५ सालमा थोप्राको दुखद निधन भयो । उता चाँगे दोभानका लोकबहादुर श्रेष्ठ, चन्द्र बहादुृर श्रेष्ठले तिरिङ्गे आरुबोटे पुगी कुलमान इजमलाई स्कुल खोलीदिनु पर्यो भनेर २००४ सालमा दोभानमा लिएर आए । कुलमान इजम (के.एम. सर) ले २००५ सालमा नातामा भान्जा पर्ने डुम्रिसे सेक्रेका नरधोज सेनेहाङलाई ‘मैले दोभानमा स्कुल खोलेको छु, तर म म्याथमा अलि कमजोर छु, पढाउँन जाउँ भान्जा’ भनेर लिएर आए । दोभानको हावापानी नरधोज सेनेहाङ (एन.डी. सर) को लागि अनुकुल भएन । ईण्डियाले खोलेको हावापानी अफिसमा रत्नमान श्रेष्ठले एकजना अंग्रेजी जान्ने सहायकको खोजी गर्दै थिए । पहिला दोभानबासी धनबहादुर श्रेष्ठले एन डी सर समक्ष त्यो जागिरको अफर लिएर दोभान पुगे । तलब पनि राम्रो, हापापानी पनि राम्रो देखेर एन डी सर २००५ सालको अन्त्यतिर दोभान छाडेर ताप्लेजुङ बजार उक्लिनुभयो ।
२००६ साल लाग्दा नलाग्दासम्म ताप्लेजुङमा आधुनिक शिक्षा दिइरहेकाहरुमा- ताप्लेजुङ बजारमा रत्नमानले गुन्जमान श्रेष्ठको घर (पछि दातारामको ठूलो घर बन्यो) मा र मन्सी गणेशबहादुरले आफ्नै घरमा । त्यसैगरी कुलमान इजम र नरधोज सेनेहाङले दोभानमा ।
ताप्लेजुङमा आधुनिक शिक्षाको सुरुवातबारेमा श्यामलाल अग्रवाल (१९९६) भन्नुहुन्छ ‘मलाई अंग्रेजी पढाउने पहिलो व्यक्ति रत्नमान श्रेष्ठ र दोस्रोमा मन्सी (गणेशबहादुर श्रेष्ठ) हुन् । मैले २००३ सालतिर रत्नमानसँग, २००४ सालतिर मन्सीसँग र २००६ सालतिर एन.डी. सर र के.एम. सरसँग पढें ।’
रत्नमानको अंग्रेजी सहितको पढाइले धेरैलाई आकर्षित गरेपछि च्यान्टागुरुकोमा पढिरहेकाहरु पनि पढ्ने भएपछि ठाउँको खोजी हुँदा स्थानीयहरुको सल्लाहमा २००६ साल वैशाख १ गतेदेखि करवीर मादेनले बनाएको पाटीमा पढाइ सुरु भयो । त्यहाँ पढाउनेमा रत्नमान श्रेष्ठ, एन डी सर, च्यान्टा गुरु र धनबहादुर श्रेष्ठ थिए ।
काठमाडौं सितापाइलामा जन्मी तीनधारा पाठशाला र वनारसमा पढेका च्यान्टा गुरु (१९६६-२००८) वेद, व्याकरण र ज्योतिष शास्त्रका ज्ञाता थिए । कट्टर ब्राम्हण परिवारका च्यान्टा गुरु अंग्रेजी शिक्षाप्रति नै असहमति राख्थे । त्यही माथि दर्जीहरु पनि पढ्न आएपछि उनले पढाउन छाडे । केही समय भुँडेजंगलको पाटीमा पढाएर उनी सुनसरीको सितागन्जमा पुगी पाठशाला सन्चालन गर्न थाले ।
यता करवीर पाटीमा पढाइ राम्रै चलिरहेको थियो, एकदिन हावापानीको जाँच गर्नुपर्ने समयमा नगरेकोले रत्नमानले एन.डी. सरलाई विद्यार्थीहरूकै अगाडि अंग्रेजीमा झपारेछन् । दुबैबिच अंग्रेजीमै भनाभन भएछ । त्यो कुराले दुईजना बिच गम्भीर फाटो आयो । रत्नमान र एन डी सर बिचको झगडामा भीमबहादुर श्रेष्ठ र रामकुमार श्रेष्ठले एन.डी. सरलाई साथ दिए । भीमबहादुर श्रेष्ठ र रामकुमार श्रेष्ठकै डिजाइन र इसारा अनुसार करवीर पाटीबाट विद्यार्थीहरुले गुन्द्री-गजेरा बोकेर जगन पाटीमा लगी राखे । केही दिन पढाइ बन्द भयो । एन डी सर कुलबहादुर मादेनको घरमा बस्नुहुन्थ्यो । कुन सरसँग पढ्ने भन्ने बारेमा कचहरी डाकियो । भीमबहादुर श्रेष्ठ र रामकुमार श्रेष्ठले विद्यार्थीहरुलाई ‘कुन सरसँग पढ्ने भनेर सोध्दा- यतैको सरसँग पढ्ने भन्नु’ भनेर सिकाएका थिए । कचहरीमा विद्यार्थीहरुले त्यही जवाफ दिए । एन डी सरले आफु बसेकै घरमा पढाउन थाले । रत्नमान र धनबहादुर बाहिरिए ।
के.एम. सर २००५ सालमा दोभानबाट दशैंको विदामा घर गएर फर्कदाँ एन.डी. सरले ‘यतै पढाउँ मामा’ भनेर कर गरेपछि के.एम. सरले पनि पढाउन थाल्नुभयो । केही पछि मादेनको घरबाट घनेन्द्र श्रेष्ठको घरमा पढाइ सारियो । विद्यार्थीको संख्या बढ्दै गएपछि अलि फराकिलो ठाउँको खोजी हुँदैथियो । यसैबिचमा पढाइरहेका सरहरु र स्थानीय अगुवाहरु हर्कजंग मादेन, ईन्द्रनारायण श्रेष्ठ, जगतमान श्रेष्ठ, पिरुलाल अग्रवाल, मोतिलाल दाहाल आदिले ‘अब स्कुल नै खोल्नुपर्छ’ भन्ने कुरालाई अगाडि बढाए । ताप्लेमा हरेक वर्ष सरस्वति पूजा गर्ने चलन थियो । त्यो दिनलाई पढाइ सुरु गर्ने दिनको रुपमा पनि लिइन्थ्यो । सायद त्यही भएर होला, सरस्वति पूजाको दिनलाई स्कुल स्थापनाको लागि र पढाउने ठाउँ भुँडेजंगलस्थित अंगीरथ पाटीलाई रोजियो । सरस्वति पूजाको दिन पाटी पछाडीको बारीमा स्थानीय अगुवाहरु लगायतको उल्लेख्य उपस्थितिमा लिंगो गाडेर पूजापाठ गरी प्रसाद बाँडेर पढाइको सुरुवात गरियो । अर्थात् स्कुल स्थापना गरियो । स्कुलको हेड सर एन डी सर । अन्य सरहरुमा कुलमान इजम, हर्षप्रसाद मादेन … । त्यस अगाडिसम्म विद्यार्थीहरुबाट सिदा लिने चलन थियो । कुलमान इजम सिदा लिनुभन्दा फिस लिने पक्षमा यस अगाडि नै थिए । स्कुल स्थापनापछि विद्यार्थीबाट शुल्क लिन थालियो ।
विद्यार्थीहरुबाट उठेको शुल्कले मात्रै स्कुल सन्चालन हुनसक्ने अवस्था थिएन । त्यसको लागि अदालतको हरेक वादी-प्रत्येवादीबाट स्कुलको लागि रसिदै काटिएर एक रुपिया चन्दा लिन थालियो । अदालतबाट चन्दा उठाउने काम विचारी देवीप्रसाद श्रेष्ठलाई दिइयो । स्कुलका सुरुका विद्यार्थी भगवति राजभण्डारी शर्मा भन्नुहुन्छ, ‘देवी विचारीले अदालतबाट चन्दा उठायो भनेर हल्ला गरियो । धनकुटा गौंडामा उजुरी पनि पुग्यो । धनकुटाबाट ‘अदालतबाट कुनै पनि किसिमको चन्दा नउठाउनु’ भन्ने आदेश आएपछि चन्दा बन्द भएको भन्ने सुनेंको थिएँ ।’
स्कुलमा आर्थिक संकट आउने भएपछि स्कुल सन्चालक समिति गठन गरियो- हर्कजंग मादेन अध्यक्ष, पिरुलाल अग्रवाल कोषाध्यक्ष, सदस्यहरूमा इन्द्रनारायण श्रेष्ठ, मोतिलाल दाहाल, जगतमान श्रेष्ठ, अम्बिरमान श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, तारानाथ अधिकारी र धनबहादुर प्रधान । चन्दा संकलनको कामलाई अगाडि बढाइयो । साथै स्कुललाई मिडिल स्कुल बनाउने र स्वीकृति लिने कुरा आयो । त्यसको लागि २००८ सालमा सम्बन्धित निकायमा पत्राचार गरियो । माथिबाट ‘मिडिल स्कुल स्वीकृतिको लागि आइ ए पास गरेको हेड मास्टर र स्कुलको नाम अनिवार्य हुनुपर्छ’ भन्ने पत्र आयो । त्यतिबेलासम्म बिना नाम स्कुल चलिरहेको थियो । आइ पास गर्ने गणेश बहादुर श्रेष्ठ मात्रै थिए । सन्चालक समितिले गणेशबहादुर श्रेष्ठलाई स्कुलको हेडमास्टर नियुक्ति गर्यो । हेडमास्टरले स्कुलको नाम ‘गणेश मिडिल स्कुल’ राखेर पत्रचार गर्यो । त्यही गणेश मिडिल स्कुल पछि भानु हाइ स्कुलमा परिणत भयो ।
स्कुल स्थापनाको यो संक्षिप्त कथा धेरै अग्रजहरुको भनाईमा आधारित छ । मैले २०५८ सालमा एन डी सर विशेषांक प्रकाशित गरेपछि भानु स्कुलको इतिहासको कतिपय पाटो उल्लेख नभएको/छोपिएको भन्ने गुनासो आयो । त्यस गुनासोले मलाई स्कुलको इतिहास जान्न थप प्रेरित गर्यो । माथिको छोटो कथा एन डी सर, भीमबहादुर श्रेष्ठ, ईन्द्रकुमार श्रेष्ठ जो स्वर्गे भइसक्नुभएको छ, उहाँहरुदेखि लिएर धेरै स्वर्गे, अस्वर्गेहरुसँगको कुराकानीमा आधारित छ । जय भानु !



















