शहीदका सपना पुरा गर्न राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभामुख घिमिरे

वेलकम खबर
माघ १६, २०८०

काठमाडौँ।   प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका सपना पुरा गर्न राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आज सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले जहानियाँ राणा शासनको अन्त्य गरेर नेपाली जनतालाई स्वतन्त्रता र अधिकार प्राप्तिका लागि आफ्नो जीवन अर्पण गरेका शहीदका सपना पुरा गर्ने अभिभारा आफूहरुको काँधमा आएको बताउनुभएको हो । उहाँले शहीदका सपना पुरा गर्न सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसका विरुद्ध हुने चलखेलहरु निस्तेज हुने उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ,’शहीदहरुले नेपाल जनताको समृद्धिको सपना देखेका थिए । त्यो सपना पुरा गर्नका लागि राज्यका सबै निकायहरु उत्तिकै जिम्मेवार छन् । विभिन्न तह र तप्का अनुसार सबैको भूमिका संविधानले नै प्रष्ट पारेको छ । त्यसकारण सबैले आफ्नो संवैधानिक भूमिकालाई ख्याल गर्दै जिम्मेवारी पुरा गर्ने हो भने सहिदप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिनेछ ।’

सभामुख घिमिरेले नेपालमा भएका सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*