सुक्खाको मारमा हिमाली बस्ती

हिउँ र पानी नपर्दा हिमाली भेगका बासिन्दालाई खेती र चौंरी पालनामा समस्या
वेलकम खबर
माघ ११, २०८०

ताप्लेजुङ । सदरमुकाम फुङलिङबाट सबैभन्दा टाढाको बस्ती याङमाका बासिन्दा आलु खेती र चौंरी पालन गर्छन् । समुद्री सतहबाट ४२ सय मिटर उचाइमा पर्ने यहाँ पुस–माघमा हिउँ बस्तीदेखि खेतसम्म टम्म हुन्थ्यो । चैत लागेपछि बल्ल हिउँ पग्लिन थालेपछि स्थानीय खेतीपातीमा लाग्थे ।
ङमाका बासिन्दा नुपु शेर्पाका अनुसार हिउँले छाडेपछि खर्कमा हरियो घाँस पलाउन थाल्थ्यो । चौंरी, याकलगायत चौपाया घाँस खोज्दै खर्कतिर उक्लिन्थे । किसान भने बारी जोतेर आलु लगाउन खटिन्थे । यहाँका बासिन्दाले त्यही आलु साटेर अन्न भित्र्याउँछन् ।

तर, पछिल्ला वर्ष मौसममा बदलाव आउन थालेपछि स्थानीयको दिनचर्या फेरिएको छ भने चौपायालाई पनि सिजनअनुसार हिँडडुल गर्ने वातावरण बनेको छैन । अचेल हिउँ नपर्दा जमिन भिज्दैन, जसका कारण जोत्न कठिन हुने र खर्कमा घाँस पनि नपलाउने भएकाले चौंरी पालनमा समस्या भएको नुपु बताउँछन् । ‘अहिलेसम्म हाम्रोमा सिँचाइ कुलो छैन,’ फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले भने, ‘लगातार भिजाइरहनुपर्ने खालको बाली नलाग्ने हिमाली क्षेत्रमा हिउँदको हिउँ र बर्खाको पानी सिँचाइको माध्यम हुने गरेको थियो । तर, हिउँ नपर्दा र वर्षा नहुँदा खेतीबालीका लागि सिँचाइ कुलो खन्नुपर्ने भएको छ ।’

प्रत्येक घरमा चौंरी पाल्ने हिमाली क्षेत्रका ओलाङचुङगोला, याङमा, घुन्सा, खम्वाछेन, तोक्पेगोलाका बासिन्दा घरमा पालेर घाँस हाल्न नसकिने भएकाले चरनमा छाड्ने गर्छन् । चरनमा हरियो घाँस नभए चौपायालाई जीउन मुस्किल हुने चिन्ता पशुपालकहरूको छ । हिउँ नपर्दा पानीका मुहान सुक्ने भएकाले चरनमा पानी पिउन पनि पाउँदैनन् । ओलाङचुङगोलाकी चुङदाक शेर्पाले भनिन्, ‘खर्कमा गएको चौंरीले घाँस खान्छ अनि ओसिलो जमिनमा गएर हिउँ खाएर पानीको प्यास मेट्छ तर हिउँ नपर्दा पानी पुर्‍याउन पनि समस्या हुने देखियो ।’ खोला नभएको क्षेत्रका खर्कबाट पशुचौपायलाई पानी पाइने ठाउँसम्म लैजान कठिन हुने र बोकेर खुवाउन पनि नसकिने उनले बताइन् ।
हिउँदमा जाडो छल्न औलतिर झर्ने र न्यानो पलाएपछि बस्तीतिर उक्लने बासिन्दालाई पनि हिउँ नपरेकामा चिन्ता छ । ‘अहिलेसम्म आलु, जौ, गहुँ, मकै धेरथोर भए पनि आफ्नो कमाइ भित्र्याउँदै थियौं,’ मिक्वाखोला–५ पापुङकी पासाङकिपा शेर्पाले भनिन्, ‘यस्तै भएपछि त अनिकाल पो लाग्छ कि जस्तो भयो ।’ लेकाली क्षेत्र मात्रै नभएर हिउँ र पानी नपर्दाको असर औलमा पनि उत्तिकै परेको छ । ‘यस वर्ष असोजदेखि नै पानी परेको छैन, डाँडामा हिउँ पनि छैन,’ फुङलिङ नगरपालिका–९ हाङदेवा बारीधापका केशवप्रसाद बरालले भने, ‘भीरपहरा सबै तातेपछि फागुनदेखि डढेलो लाग्न थाल्छ र पहाडी जमिन सबै कालो बनाउँछ ।’

माथिल्लो क्षेत्रमा लामो समय हिउँ रहँदा बिस्तारै पग्लेर बेंसीतिरका बस्तीमा पानीका लागि राहत हुने गरेको थियो । यसपालि पानी नहुँदा तल्लो क्षेत्रका खेतबारी पनि उराठलाग्दो देखिन थालेका छन् । जल तथा मौसम फिल्ड कार्यालय ताप्लेजुङका अनुसार असोजपछि वर्षा नभए पनि तापक्रम भने पहिलाको तुलनामा फेरिएको छैन । मौसम विज्ञान सहायक डिभिड ढकालका अनुसार फुङलिङमा न्यूनतम तापक्रम २ डिग्री सेल्सियससम्म रेकर्ड भएको छ । हिमाली बस्तीमा भने यतिबेला तापक्रम माइनसमा झर्ने गरेको छ ।

हिउँ नपरेकै कारण ताप्लेजुङमा पर्यटक आवागमन पनि प्रभावित हुने पर्यटन व्यवसायीलाई चिन्ता छ । घुन्साका पर्यटन व्यवसायी मिङमा डन्डु शेर्पाले भने, ‘पहिला हिउँको ढिस्को भएर बस्थ्यो, अहिले हिमालमा अडिने हिउँ नदेखिँदा चिन्ता लाग्न थालेको छ ।’ पुस, माघमा घामको ताप कम हुने भएकाले हिउँ तत्काल पग्लिँदैन, मज्जाले जम्ने र लामो समय बस्ने खालको हुन्छ । फागुन, चैतमा पर्ने हिउँ भने तापक्रमका कारण चाँडै पग्लिने डन्डुले सुनाए ।-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*