राष्ट्रिय सभा निर्वाचन: आजदेखि आचारसंहिता लागू

वेलकम खबर
माघ २, २०८०

काठमाडौं ।माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको भोलिपल्ट माघ १२ गतेसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ), दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्‍यवस्था लागू गर्न लागेको हो।

निर्वाचन आचारसंहिताले कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रयोग गर्न वा गराउन नपाइने उल्लेख गरेको छ। आयोगले निर्वाचनका लागि सार्वजनिक संस्था, विद्यालय, विश्वविद्यालयलगायत क्षेत्रमा पनि प्रचारप्रसार तथा भेला नगर्न निर्देशन दिएको छ।

त्यसै गरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्‍ख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आ“च आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने पनि प्रवक्ता पौडेलले बताउनुभयो।

आचारसंहिताअनुसार प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने भनिएको छ।

सामाजिक सञ्‍जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्नेजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ।

निर्वाचनको ४८ घण्टाअगाडि मौन अवधि शुरू हुने पनि आयोगले जनाएको छ। आयोगका अनुसार माघ ८ गते मध्यराति १२ बजेदेखि उक्त मौन अवधि शुरू हुन्छ।

त्यस अवधिमा निर्वाचनको प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने भनिएको छ।

त्यसै गरी मतदान स्थलको दुई सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र प्रचार गर्न नहुने भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*