राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोला माविलाई
ताप्लेजुङ । मैवाखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८० को उपाधि मैवाखोला मावि तेम्बेले हात पारेको छ । प्रतियोगितामा २२ स्वर्ण, ३ रजत र ४ कास्यसहित मैवाखोला मावि प्रथम भएको हो ।
१५ वटा इभेन्ट्स खेलाइएको प्रतियोगितामा ५ स्वर्ण, १५ रजत र ५ कास्यसहित नारायणी मावि साँघु दोस्रो र २ स्वर्ण, ५ रजत र १३ कास्यसहित जनकल्याण मावि तेल्लाबुङ तेस्रो भएका छन् । विजेताहरुलाई गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, वडाध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनलगायतले पुरस्कार वितरण गर्नुभयो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष वनेमले मैवाखोलामा सृजनात्मक र पृथकशैलीमा खेल क्षेत्रको विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । विद्यालयस्तरबाटै राम्रा खेलाडी उत्पादन गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि भलिबल र फुटबलका प्रशिक्षकको व्यवस्था गरेको बताउँदै उहाँले आगामी दिनका प्रतियोगिता अझ प्रतिस्पर्धात्मक हुने जनाउनुभयो । साथै, प्रतियोगिता अवधिभर अनुशासित र मर्यादित रुपमा सहभागिता जनाउने सबै विद्यालय र विद्यार्थीहरुप्रति उहाँले आभार प्रकट गर्नुभएको छ । प्रतियोगितामा पालिकामा रहेका पाँच वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।



















