पाथीभरामा जम्मा भयो ८ करोड ३५ लाख बढी रकम (भिडियो सहित)

दसैं तिहारको समयमामात्रै ६८ लाख भेटी संकलन, सुन ९८ तोला र चाँदी ९२ किलो
राजेन्द्र श्रेष्ठ
पुस १४, २०८०

ताप्लेजुङ । दसैं–तिहारको समयमा ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा ६८ लाख रुपैंया भेटी रकम संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले यो अवधिको भेटीको रकम गणना सकेपछि विवरण सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले कार्तिक देखि मंसिर मसान्त सम्ममा ६८ लाख ११ हजार १ सय १० रुपैंया भेटी संकलन भएको जानकारी दिए ।

पाथीभरा क्षेत्र विकास समितिको खातामा ८ करोड ३५ लाख २३ हजार रुपैयाँ बैंक मौज्दात रहेको हाङवाङले बताए । समितिले सदरमुकाम फुङलिङका पाँच वटा बैंकमा रकम राखेको छ । पछिल्लो १५ महिनामा ९८ तोला सुन समेत संकलन भएको हाङवाङले बताए । यही अवधिमा ९२ किलो ६ सय ५० ग्राम चाँदी समेत संकलन भएको क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले बताए ।

तिर्थयात्रीले चढाएको ६ हजार ५ सय ३५ किलोग्राम तामा र १६ हजार ३ सय ६८ किलो घण्टी समेत तौल गरेर भण्डारण गरिएको क्षेत्र विकास समितिले जनाएको छ । जम्मा भएको सुन, चाँदी, तामा र घण्टीलाई क्षेत्र विकास समितिको बैठक वसेर व्यवस्थापन गर्ने थेवेले जनाएका छन् ।

पाथीभरा क्षेत्र विकास समिति २०५३ सालमा गठन भएको हो । भेटी भनें २०७६ सालदेखि संकलन तथा खर्च गर्दै आएको छ । यसअघि सम्म नागरिक स्तरवाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले संकलन तथा खर्च गर्दै आएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*