ताप्लेजुङको दोभानमा लाग्ने पुषे मेलाको तयारी पुरा

खेलमा अन्तराष्ट्रिय स्तरको खेलाडी समेत सामेल हुने
वेलकम खबर
मंसिर ३०, २०८०

ताप्लेजुङ । पुष १ गते देखिताप्लेजुङको दोभानबजार लाग्ने पुषे मेलाको तयारी पुरा भएको छ । मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य भोलि देखि आयोजना हुन लागेको मेलाको तथा स्वर्ण महोत्सवको तयारी पुरा भएको दोभान स्पोर्टिङ क्लब तथा पुषे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिकोजनाएको छ ।
मेलाको उद्घाटन कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामाबाट हुने समितिका अध्यक्ष हेम सिरिङ चोङबाङले जानकारी दिए । उनले ५० वर्ष देखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुषे मेलामा यस वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने बताए ।
भलिबलमा चर्चित मानिएका नाम्चे भलिबल क्लब नाम्चे बजार साउथ सिक्कीम, भारत, नगर खेलकुद विकास समिति, गलकोट बाग्लुङ, भोजपुर भलिबल क्लब भोजपुर, पाथीभरा टाइगर भलिबल क्लब दमक झापा, सङ्खुवासभा भलिबल क्लब सङ्खुवासभा, सुनसरी जिल्ला भलिबल टिम र उदयपुर स्पोर्ट्स क्लब आमन्त्रित क्लबको रुपमा सहभागी हुने भएका छन् ।
गृह जिल्लाको तर्फबाट मुकेश मेमोरियल क्लब र हिमाली तोक्पेगोला भलिबल क्लबले सहभागिता जनाउने भएका छन् । प्रत्येक टिमले २ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडी समेत सहभागी गराउन पाउने नियमानुसार यो प्रतियोगितामा सहभागी टिमले सो स्तरको खेलाडी सामेल गर्ने आयोजकले जनाएको छ । आयोजक समितिका सचिव गणेश कार्की ढोलीका अनुसार भोलि ३ खेल खेलाइने तयारी भइरहेको छ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुने भएको छ । सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप  ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।
भलिबल प्रतियोगितातर्फ सर्वोत्कृष्ट हुने खेलाडी नगद १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुँदा उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सटर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद २ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । भलिबल खेल संगै त्यहाँ ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको मेला आयोजक कमिटीले जनाएको छ ।

स्थानीय क्षेत्रमा रहेका फुङफुङगे झरना, गुराँसे पोखरी, तोक्पेगोला, लोदेन क्षेत्र सहितका पर्यटकीय स्थलहरूको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन तथा तमोर नदीमा र्याफटीङ समेत गर्न पाइने भएकोले मेलाले सघाउ पु¥याउने आयोजकको विश्वास रहेको छ । धान नाच, पालम र हाक्पारे सहितका मौलिक महत्वका बोकेका सांस्कृतिक सम्पदाका प्रवर्द्धनमा समेत सघाउ पुग्ने हिसाबले मेलाको आयोजना गरिएको आयोजक कमिटीले जनाएको छ ।

आयोजक कमिटीका कोषाध्यक्ष चोङवाङका अनुसार मेला अवधिका लागि कूल ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजक कमिटीले उद्घाटनको दिन बाहेक भलिबल खेलका लागि सेमिफाइनल अघिका सबै खेलमा ५० रुपैयाँ र सेमिफाइनल र फाइनल खेलका लागि जनही १ सय रुपैयाँ टिकटदर निर्धारण गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*