भालुका बच्चा हुर्किन्जेल भेडी गोठ लेकमै

भालुका बच्चा हुर्किन्जेल भेडी गोठ लेकमै फावाखोलाको नाम्सालिङ, सोलीडाँडा क्षेत्रमा भालु बच्चासहित लस्करै हिँडेको देखेपछि स्थानीयले गोठ सार्न पाएनन्
आनन्द गौतम
मंसिर ३०, २०८०

ताप्लेजुङ। फावाखोलाका गोपाल विष्टले एक महिनादेखि हेल्लोक आसपासमा भेडा चराइरहेका छन् । अघिल्ला वर्षहरूमा यतिबेला उनी भेडी गोठ तल सोलीडाँडामा सारिसकेका हुन्थे । यस वर्ष यहाँ भालुका बच्चा हुर्किरहेकाले सार्न नपाएका हुन् ।

‘फावाखोलाको नाम्सालिङ, सोलीडाँडा क्षेत्रमा भालु बच्चासहित लस्करै हिँडेको देखेपछि गोठ माथि नै राख्नुपर्‍यो,’ गोपालले भने, ‘रूखका हाँगा भाँचेको र जंगलमा हिँडेको संकेतले पनि धेरै संख्यामा छन् भनेर अनुमान लगाउन सकिन्छ ।’
डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद शाहले सोलीडाँडामा भालुका बच्चा हुर्किरहेको बताए । ‘ताप्लेजुङमा कालो भालु पाइन्छ,’ उनले भने, ‘यहाँ रूख चढ्ने र भुइँमा हिँड्ने दुवै खाले भालु छन् ।’ अहिले यहाँ भालुका दुईरतीन महिनाका बच्चालाई माउले सिकार गर्न सिकाइरहेको छ । यदि बच्चाले भेडाको सिकार गर्न थाल्यो भने गोठ जोगाउनै समस्या हुन्छ । पूर्णबहादुर विष्टको भेडी गोठ पनि अझै लेकमा नै छ । ‘लालीखर्कमा रोकेर राखेको छु, भालु गुफा पसेपछि मात्रै वाखोलातिर झार्ने योजना छ,’ उनले भने ।हिउँ पर्ने सिजनमा भेडी गोठ न्यानो र सुरक्षित स्थानका लागि लेक हुँदै तल झार्ने गरिन्छ । हिउँले नभेट्ने र चरन पनि हुने भएकाले गोठालाहरू समयअनुसार गोठ सार्ने गर्छन् । फावाखोला, लिंखिम, फुरुम्बूलगायत क्षेत्रका भेडी गोठ पाथीभराको काफ्लेपाटीभन्दा तल्लो क्षेत्रमा राखिन्छ ।

जिल्लाको पूर्वोत्तरका भेडी गोठ भने सादेवामा झारिएको छ । पुस लागेपछि कालीखोला क्षेत्रमा लैजाने भेडा पालक टोपबहादुर बुढाथोकीले बताए । भेडा किसानका अनुसार पुस लागेपछि भालु आफ्ना बच्चाहरू लिएर गुफा पस्ने गर्छ । ‘भेडालाई वन्यजन्तुबाट जोगाउन ज्यादै मुस्किल छ,’ टोपबहादुरले भने, ‘खान त सिद्धिखर्कतिर डुलाउँदा पनि भालुले खान्छ तर बच्चा नै पल्क्यो भनेचाँहि खती धेरै गर्ने र रातिसमेत गोठमा आक्रमण गर्ने भएकाले होसियार हुनुपर्छ ।’

जिल्लाका कालीखोला, सादेवा, सुरुमखिम, मामांखे, फावाखोला, साँवा, पापुङलगायत क्षेत्रका बासिन्दाले भेडा पाल्छन् । डुलाएर पाल्ने गोठमा तीनरचार सयसम्म र घरमा बाँधेर पाल्नेले दुईदेखि दस वटासम्म पाल्ने गरेको किसानहरू बताउँछन् । ताप्लेजुङमा साढे ५ हजारको संख्यामा भेडा पालिएको पशु सेवाविज्ञ केन्द्र पाँचथररताप्लेजुङका प्रमुख मनोजकुमार महतोले बताए ।-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*