सानिमा बैंक ताप्लेजुङले दुई छात्रालाई वार्षिक ५० हजारको छात्रबृत्ति दिने
ताप्लेजुङ । कक्षा ११ अध्ययनका लागि सानिमा बैंक लिमिटेड ताप्लेजुङले दुईजना छात्रालाई वार्षिक ५० हजारका दरले छात्रवृत्ति दिने भएको छ । यसै शैक्षिक सत्रमा एसइइ उत्तीर्ण गरी ११ कक्षामा भर्ना भएका फुङलिङ नगरपालिका ३ का पुजा गुरागाँई र २ का प्रनिशा धिताललाई उपलब्ध गराउने भएको हो । सानिमा बैंकका प्रबन्धक बिनोद ओझाका अनुसार छात्रवृत्तिका लागि गत भदौमा आवेदन आव्हान गरिएको थियो ।
जसका लागि तीन छात्र र दुई छात्रा गरी पाँच जनाले आवेदन दिएका थिए । उनीहरू मध्ये सिभिल इन्जिनियर अध्ययनका लागि भानु जन माविमा भर्ना भएकी गुरागाँई र हाइड्रो इन्जिनियरका लागि वाल सुवोधिन माविमा भर्ना भएकी धिताललाई छनौट गरिएको ओझाले जानकारी दिए । उनीहरूले एसइइमा प्राप्त गरेको जिपिए, अध्ययन गरिरहेको विषय, त्यसको लागत, पढाईको निरन्तरता र आर्थिक स्रोतलाई अध्ययन गरिएको छनौट समितिले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख योगेश्वर भट्टराई, बैंक भएको फुङलिङ नगरपालिका ५ का वडाध्यक्ष सोजीत श्रेष्ठ लगायतको छनौट समिति बनाइएको थियो । यी छात्राले ११ कक्षा उत्तीर्ण गरे १२ मा पनि यत्ती नै रकम प्राप्त गर्नेछन । विद्यालय छोडे वा उनुतीर्ण भए १२ कक्षामा रकम नदिइने ओझाले बताए । सानिमा बैंकले काठमाडौं उपत्यका बाहिर रहेका प्रत्येक शाखावाट यो रकम उपलब्ध गराउदै आएको बैंकले वताएको छ । बैंकले उनीहरूको अध्ययनको अनुगमन र मूल्यांकन पनि गर्दै आएको जनाएको छ ।



















