चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैंडा

वेलकम खबर
१ मंसिर २०८०, शुक्रबार ०८:४७

चितवन । तस्करहरूले चितवन निकुञ्जभित्र खाल्डो खनेर दुईवटा गैंडा मारेका छन् । दुवै गैंडाको खाग छैन । गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि नै तस्करहरूले गैंडा मार्ने गर्दछन् ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा बिहीबार मध्यान्ह खाल्डोमा खागविहीन दुईवटा मृत गैंडा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।
खैरहनीनजिक खगेन्द्रपल्ली पोस्टबाट तल लगभग साढे तीन किलोमिटर पर दक्षिण पूर्वमा पर्ने चपरचुली इलाकामा घटना भएको तिवारीले बताए । सेना र निकुञ्ज प्रशासनको संयुक्त नियमित गस्ती टोलीले खाल्डोमा परेका गैंडा देखेका थिए । दुवै पोथी गैंडा हुन् । एउटा अन्दाजी १८ वर्ष र अर्को अन्दाजी ६ वर्ष जतिको रहेको तिवारीको भनाइ छ । ठूलो गैंडा झन्डै १० दिन पहिला र सानो गैंडा तीन दिनअघि खाल्डोमा परेको हुन सक्ने उनले बताए ।

‘सानो गैंडाको खाग काटेको आलो घाउ नै छ । ठूलो गैंडाको खाग छैन तर काटेको घाउ पनि देखिन्न । जुधेर पहिल्यै खसेको हो वा तस्करले तानेर लगे खुल्दैन,’ सूचना अधिकारी तिवारीले भने । निकुञ्जको सोही क्षेत्रमा नै गएको भदौ १४ गते गैंडाको हाडखोर फेला परेको थियो । त्यो बेलामा पनि खाग भेटिएको थिएन । त्यसैले त्यो गैंडा पनि चोरीसिकारीले नै मारेको हुन सक्ने निकुञ्जका अधिकारीहरूको अनुमान थियो ।

गत वर्ष माघमा चितवन निकुञ्जको पश्चिम क्षेत्र नवलपरासी मध्यविन्दु नगरपालिका–२ नारायणी किनारमा तस्करले करेन्ट लगाएर दुईवटा गैंडा मारेका थिए । यो आर्थिक वर्षमा अहिलेसम्म चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा आठ वटा गैंडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

गैंडा दुर्लभ वन्यजन्तु भएका कारण यसलाई मारेमा वा यसको अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । पछिल्ला केही वर्ष सुस्त रहेको चोरी सिकार फेरि सक्रिय भएको घटनाक्रमले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*