ताप्लेजुङ प्रशासनबाट गैर आवासीय नेपालीलाई नागरिकता

वेलकम खबर
२१ कार्तिक २०८०, मंगलवार १८:०७

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनमा जन्मिएर नर्वेमा बस्दै आएका विशाल कुमार सिटौलाले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट गैर आवासीय नेपाली नागरिकता लिएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सोमबार नागरिकता प्रदान गरेकी हुन् । सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईका अनुसार ताप्लेजुङबाट नागरिकता लिने उनी पहिलो गैर आवासीय नेपाली बनेका छन् ।
स्थानीय तहको सिफारिस, नेपाली नागरिकता त्यागेको निवेदन, नेपाली नागरिकता त्यागेको निस्सा पेस गरेको भट्टराईले बताए । परिवारका सदस्यले सनाखत गर्नुपर्ने भएकाले गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका विश्वनाथ सिटौलाले सनाखत गरिदिएको प्रशासन कार्यालयले जनाएको छ । सिटौलाले नर्वेको विश्वविद्यालमा प्राध्यापन तथा लेखनको काम गर्दै आएको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नागरिकता सम्बन्धी संशोधन ऐन प्रमाणीकरण गरेपछि र भदौमा मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि गैर आवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*