तीन अमेरिकी नागरिकले गरे कुम्भकर्ण हिमालको आरोहण
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा रहेको ७ हजार ७ सय १० मिटर उचाइको जन्नु ९कुम्भकर्ण० हिमाल तीन जना अमेरिकी नागरिकले आरोहण गरेका छन् ।
ग्रान्ड हिमालय ट्रेक्स एन्ड एक्सपिडिसनबाट गएका पाँच जनामध्ये एलन प्याट्रिक, माइकल ओरियन गार्डनर र ज्याक्सन मिलर मार्भलले उक्त हिमालको सफल आरोहण गरेको कम्पनीका म्यानेजर ओङमु शेर्पाले जानकारी दिइन् ।
आरोहणका लागि गएका सबै अमेरिकी नागरिक भएको र अमेरिकाका नागरिकले यो हिमालको पहिलोपटक आरोहण गरेको शेर्पाले बताइन् । ओङमुका अनुसार आरोहणका लागि पाँच जनाको टोली गएका थिए । दुईजना भने आरोहण गर्न नसकी फर्किएका छन् । नेपाली समय अनुसार शनिबार बिहान ४ बजेर २० मिनेटमा आरोहण गरेका उनीहरु शनिबार राति बेसक्याम्प फर्किएका छन् । हिउँले शरीरमा असर पुर्याएपछि उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं लगिएको ओङमुले बताइन् ।
किरात धर्मावलम्बीहरुको पवित्रस्थल ‘फक्ताङलुङ’ समेतको नामले चिनिने यो हिमाल चढ्न जोखिमपूर्ण र अप्ठ्यारो मानिने घुन्साका पर्यटन व्यवसायी डण्डु शेर्पा बताउँछन् ।
नेपाली शेर्पाबिनै आरोहण गरेका उनीहरु आफैं गाइड भएको पनि ओङमुले बताइन् । लगनशीलता, टिमवर्क र साहसका कारण पनि उनिहरु सफल भएको कम्पनीले जनाएको छ । यसअघि दुई पटकका प्रयास सफल नभएकाहरु नै आएर आरोहण गरेको शेर्पाले बताइन् । यसअघि फ्रान्स र रूसका थोरैले आरोहण गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा छ । इकान्तिपुरबाट



















