श्रेष्ठ बने ताप्लेजुङ आइडल सिजन-३ को विजेता
ताप्लेजुङ । सुमन श्रेष्ठ ताप्लेजुङ आइडल सिजन ३ को विजेता बनेका छन् । विजेता श्रेष्ठले नगद १ लाख र दुई वटा नयाँ गीतमा स्वरांकनको उपहार प्राप्त गरे । यसैगरी दोस्रो हुने पेमा लमु शेर्पाले नगद ५० हजार र एउटा गीत पुरस्कार पाइन् भने तेस्रो हुने तेजन सुनुवारले ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
श्री पन्चमी शान्ति युवा क्लव, पाथीभरा याङवरक(१ नाङखोल्याङ ताप्लेजुङले स्थानीय कलाकार उत्पादन गरी ताप्लेजुङलाई मुलुक र विश्व जगतसँग चिनाउने उद्धेश्यले २०६६ सालमा ताप्लेजुङ आइडलको सफल आयोजना गरेको थियो ।
बुबा दिल बहादुर श्रेष्ठ, आमा गंगामाया श्रेष्ठका तीन छोरामध्ये कान्छा छोरा सुमन श्रेष्ठ सानै उमेरदेखि गायनमा अत्यन्तै रुचि राख्थे । गाउँका सानादेखि ठुला(ठुला सांगीतिक कार्यक्रमहरुमा समेत सक्रिय रुपले आफ्नो उपस्थिति जनइरहने सुमनको, हुने बिरुवाको चिल्लो पात भनेझैं सानै उमेरदेखि गायनमा आफूलाई अव्वल साबित गरिरहेका छन् ।
सुमन श्रेष्ठ
२०७४ सालमा खुला अनलाइन गायन प्रतियोगितामा समेत प्रथम भई राईइज किङ राजेशपायल राईको बाहुलीबाट पुरस्कार प्राप्त गरेपछि उत्साहित सुमनले गत वर्षदेखि विधिबत संगीत सिक्न थालेको समेत बताउछन् ।जसमा लक्ष्मण लिम्बुले प्रथम ताप्लेजुङ आइडलको गौरव बनाउन सफल भएका थिए । ‘सख्खर चिनी’, ‘पछि पछि लागेर’ आदि चर्चित गीतहरुका गायक तथा गएको सिजनमा द भ्वाइसको अन्तिम लडाई लडेका लोकप्रिय गायक पदम राई २०६९ सालमा आयोजित यहि ताप्लेजुङ आइडल सिजन(२ का विजेता समेत रहेको बताउछन् क्लवका अध्यक्ष भुवन आङबुहाङ ।
सुरुवाती चरणमा ५२ जना गायक गायिकाको अडिसन ताप्लेजुङकै कलाकारहरु उत्सव साँवा, निलम न्यौपाने र रमेश सिवाले लिई सुरु भएको ताप्लेजुङ आईडल सिजन ३ को फाइनलमा ६ जना गायक(गायिकाले प्रतिस्पर्धा गरेका थिए भने भोट र जुरीको निर्णयको आधारमा पहिलो, दोस्रो र तेस्रो छुट्याइएको थियो । फाइनलमा पाँचथरका मिलन विश्वकर्मा र ताप्लेजुङ भानु मा।वि।का संगीत गुरु उत्सव साँवाले जुरीको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको आकर्षणको रुपमा बूगी(वूगीकी विजेता प्रख्यात नृत्याङ्गना कविता नेपालीले नृत्य प्रस्तुत गरेकी थिइन् ।
कोभिड र आर्थिकको कारण यस्तो पुण्य कार्य नियमित संचालन गर्न नसकेपनि जेजति काम भएका छन् त्यसको नतिजा उत्साहजनक पाएको र आफ्नो गाउँ समाज यस्तो काममा सहयोग गर्न उत्साही भएको र सबै सहयोगी मनलाई हार्दिक आभार व्यक्त क्लवका अध्यक्ष भुवन आङ्बुहाङ गरेका छन ।-nepalpatra



















