ताप्लेजुङको घुन्सामा पुल भाँचिदा आधा दर्जन चौंरी घाइते
ताप्लेजुङ । पशु चौपाया तर्ने क्रममा फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा खोलाको फलामे पुल भाँचिदा आधा दर्जन बढी चौंरी घाइते भएका छन् । स्थानीय चौंरीपालक तेञ्जिङ शेर्पाका अनुसार खम्बाछेन, लोनाक लगायतका खर्कबाट घुन्साको बस्ती हुँदै फले लैजाने क्रममा पुल भत्किएको हो ।
१३/१४ वटा एकैपटक पुलमा बसेको थियो, चौंरी पालक डिमा शेर्पाले भने, भ्याप्पै भाँचिदा ६र७ वटाचाहिँ निकै घाइते भयो, बाँकीचाहिँ निकाल्न सकियो । ७० वटा चौरी तार्ने क्रममा पुल भत्किएको उनले बताए ।
मान्छे र भेडा बाख्रा झोलुङ्गे पुलबाट तार्ने भए पनि चौंरी तार्न फलाम र काठको पुल बनाउने गरिएको छ। फलामले बनाएको पुल भत्किएको भेडापालक गोपाल विश्टले जानकारी दिए ।
यो खोलाबाट एक हजार भन्दा बढी चौंरी यही समयमा तार्नुपर्ने स्थानीय बताउँछन् । पुल भत्केपछि अब समस्या हुने उनीहरूको दाबि छ । बर्खाले यो वर्ष घुन्सा क्षेत्रमा खासै क्षति पुर्याएको थिएन । घाइते चौंरीको घरेलु उपचार गर्ने र आवश्यक परे गाउँपालिकाबाट पशु स्वास्थ्यकर्मी बोलाउने चौंरीपालक बताउँछन् ।-ekantipur



















