फागुन १ गतेको सार्वजनिक विदा फिर्ता लिन सरकारलाई ओलीको अल्टिमेटम
काठमाडौं। तत्कालीन नेकपा माओवादीले जनयुद्ध दिवस सुरु गरेको दिनलाई क्यालेन्डरमा समावेश गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बिशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले त्यसलाई तत्काल सच्चाउँनु पर्ने माग समेत गरेका छन्।‘हिंसा सुरुवात गरेको दिनलाई क्यालेन्डरमा राखिएको छ, राष्ट्रिय बिदा भनेर, यो क्याबिनेटबाट तत्काल फिर्ता लिनुपर्छ, उनले संसदमा भने, ‘यो सच्याउने काम तुरुन्त गरिनुपर्छ, क्लियर भाषामा भनेको छु, यो स्वीकार्य छैन, यदि फिर्ता लिनु हुन्न भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं।’
यसैबीच उनले सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई खोपीको राजा बनाएको आरोप लगाएका छन्। अघिल्लो संसदले पठाएको नागरिकता बिद्येयकमा उल्लेख भएका राष्ट्रपति बिद्यादेवी भण्डारीको नाम काटेर हालका राष्ट्रपतिलाई विधेयक प्रमाणित गर्न लगाएको उनको आरोप छ।
‘पहिलाको संसदले, पहिलाको राष्ट्रपतिलाई पठाएको विधेयकमा नाम काटेर बिद्येयक प्रमाणीकरण गर्न लगाएका छन्, ज्यानमाराहरुलाई जेलबाट निकालेको छ, ज्यानमाराहरु शानसहित लावालस्कर लगाएर हिँडेको देखियो,’ ओलीले भने, ‘राष्ट्रपतिलाई यो सरकारले खोपीको राजा बनाएको छ, क्याबिनेटको आदेशमा राष्ट्रपतिलाई चलाएको छ।’सरकारको नेतृत्वको दल र सत्ता गठबन्धनमा आबद्ध दलले कोशी सरकार निमार्णमा तमासा देखाएको पनि उनको आरोप छ।



















