खाम्लुङका जेष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङका जेष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण गरिएको छ । आज ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालयले ६८ वर्ष माथिका ३२ जना पुरुष र २८ महिलागरी ६० जना जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो सिरक वितरण गरेको हो । सम्मानित हुनेमा सबैभन्दा बढी उमेरका पुरुषतर्फ ८८ वर्षीय हिमालसिंह नाल्बो र महिलातर्फ ७७ वर्षीया बुधरानी लिम्बू रहनुभएको वडाध्यक्ष लिम्बूले बताउनुभयो । यस्तै जेष्ठ नागरिकलाई सम्मानसँगै उहाँहरुलाई एक–एक वटा न्यानो सिरक वितरण गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष दुर्गाबहादुर श्रेङचोङ्बाङको उपस्थितिमा जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । वडाबाट विनियोजित एक लाख रुपियाँ रकम खर्चिएर वडाबासी जेष्ठ नागरिकको सम्मान गरिएको पनि वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।



















