ओलाङ्चुङगोलावासीले लिए सीमा परिचयपत्र
ताप्लेजुङ । ताप्लेजुङको सीमावर्ती गाउँ फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका बासिन्दालाई सीमा प्रवेश अनुमति परिचयपत्र वितरण गरिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको हिमाली बस्ती ओलाङ्चुङगोलाका बासिन्दालाई सीमा वारपार गर्ने प्रयोजनका लागि परिचयपत्र वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ नेतृत्वको टोली ओलाङ्चुङगोला पुगेर सर्वसाधारणलाई सीमा प्रवेश अनुमति परिचयपत्र वितरण गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) समेतको उपस्थितिमा ओलाङ्चुङगोला र याङ्मा नागरिकलाई परिचयपत्र वितरण गरिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दिएको जानकारी अनुसार ओलाङ्चुङगोलाका ८९ जनालाई सीमा प्रवेश अनुमति परिचयपत्र वितरण गरिएको छ । परिचयपत्र वितरण गरिएपछि तिब्बत माइत भई ओलाङ्चुङगोलावासी नेपालीसँग विवाह गरेका महिला र तिब्बत विवाह गरेका नेपाली महिलालाई बढी राहत पुग्ने छ ।
उहाँकाअनुसार माइत तथा ससुराली आउजाउ गर्न अर्थात् सीमा वारपार गर्नलाई वैवाहिक सम्बन्ध भएका परिवारलाई असहजता भएको थियो । जिल्लाको उच्च हिमाली बस्ती ओलाङ्चुङगोलाकै एक टोलको रूपमा रहेको याङ्मामा बसोबास गर्दैआएका १० परिवारमध्ये आठ परिवारका गृहिणी अर्थात् यहाँका बुहारीको माइत तिब्बत रहेको बताइएको छ ।

त्यस्तै ओलाङ्चुङगोलामा पनि तिब्बत माइत भएका धेरै गृहिणी वा बुहारीहरू हुनुहुन्छ । यताका केही महिलाले तिब्बतका पुरुषसँग विवाह गरेका छन् । यसरी दुई देशबीच वैवाहिक सम्बन्ध रहेका परिवारलाई लक्षितगरी सीमा प्रवेश अनुमतिपत्र वितरण गरिएको र परिचयपत्रले सम्बन्धित परिवारलाई राहत पुग्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।

परिचयपत्र पाएका सदस्यलाई सीमा वारपार गर्न वा आउजाउ गर्नलाई सहज हुने अपेक्षा राखिएको पनि उहाँको भनाइ छ । फक्ताङ्लुङ गाउँपालिकाकै –६ लेलेपको घुस्सा, फले र ग्याब्लामा पनि तिब्बतसँग वैवाहिक सम्बन्ध रहेका केही परिवारहरू भएकाले क्रमशः परिचयपत्र वितरण गरिने बताइएको छ ।



















