उच्च पदस्थ व्यक्तिहरुले विदेश भ्रमण गर्दा साधारण खर्च बढ्यो : सांसद भट्टराई

वेलकम खबर
अशोज १०, २०८०

काठमाडौँ । एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरू अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जाँदा राज्यको साधारण खर्च बढिरहेको बताएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसद भट्टराईले पछिल्लो ६ महिनायता हरेक दिन मन्त्रीहरू विदेश भ्रमणमा गइरहेको बताए ।

नेपाल सरकारका सचिव, सहसचिवलगायत कर्मचारी सहभागी भए हुने कार्यक्रममा मन्त्री नै जाने गरेको भट्टराईको भनाइ थियो । ‘सन् २०१७/०१८ को भन्दा बढी विदेश भ्रमणहरू भइराखेको छ यो ५/६ महिनामा । जम्बो, जम्बो टोली चाहे त्यो प्रधानमन्त्रीको टोली होस् अथवा मन्त्रीहरूको टोली होस् हरेक दिन कुनै न कुनै मन्त्री विदेशमा छ । हरेक दिन कुनै न कुनै सचिव विदेशमा छ । हरेक दिन कार्यालयको कुनै न कुनै मान्छे विदेशमा छ,’ उनले भने, ‘शाखा अधिकृत अथवा उपसचिव, सहसचिवले सहभागिता जनाउन मिल्ने कतिपय कार्यक्रममा मन्त्री उपस्थित हुने, सचिव जाने गरेका छन् ।’

विदेश भ्रमण अवधि पनि अनावश्यक लामो गरिरहेको एमाले सचिवसमेत रहेका सांसद भट्टराईको भनाइ थियो । ‘३ दिनको कार्याक्रमलाई ७-१० दिनको भ्रमण अवधि बनाउने अनि विदेशमा गएर आफ्नो आफन्त भेट्ने ? साइडलाइन काम गर्ने ? यसले गर्दा हाम्रो अत्याधिक रुपमा साधारण खर्च बढिराखेको छ, फजुल कुरा हो । यसमा यसपटक परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई बोलाएर पछिल्लो ५-६ महिनाको विदेश भ्रमणको स्थिति के छ ? औचित्य के थियो ? हेर्नुपर्छ,’ उनको माग थियो ।

सांसद भट्टराईले राष्ट्रिय गौरवका आयोजना समयमै कार्य सम्पादन गर्न नसकेका भन्दै यसतर्फ पनि सार्वजनिक लेखा समितिले गम्भीर रुपमा चासो लिनुपर्ने बताए । उनले अझैसम्म सुन तस्करी छानबिन सम्बन्धी आयोगले गर्ने कार्यादेशमा समेत सहमति जुट्न नसकेको भन्दै सरकार छानबिन गर्नबाट पछि हट्दै गएको बताए । आन्दोलनरत राहत शिक्षकहरूको माग सम्बोधन गरेर उनीहरूलाई तुरुन्त कक्षाकोठासम्म फर्काउनुपर्ने पनि उनको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*