सरकार तस्करी र अपराधीको संरक्षणमा लाग्यो, डिएसपीलाई मार्ने धम्की दिँदा पनि कानमा तेल हालेर बस्यो : ओली

वेलकम खबर
भदौ २५, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैं तस्करी र अपराधीको संरक्षणमा संलग्न रहेको ठोकुवा गर्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो ठोकुवा गर्नुभएको हो ।

अध्यक्ष ओलीले मार्छु भनेर सांसद्ले प्रहरीलाई मार्छु भन्दै धम्की दिँदासमेत सरकार चुप लागेर बसेको भन्दै कडा आपत्ति पनि जनाउनु भयो ।तेजाब आक्रमण विरुद्धको जागरण दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय कार्यालय च्यासलमा आज आयोजित पीडितहरुसँगको अन्तरक्रियामा बोल्दै ओलीले कोशी प्रदेशमा कांग्रेस सांसद्ले नेपाल प्रहरीका डीएसपीलाई मार्ने धम्की दिँदा सरकार चुप लागेर बसेको बताउनुभयो ।

अध्यक्ष ओलीले ताप्लेजुङमा कांग्रेस सांसद् (खगेनसिंह हाङगाम) ले नेपाल प्रहरीका डीएसपी (राजन लिम्बू) र उहाँको परिवारलाई ज्यान मार्ने धम्की दिँदा सरकारले नदेखे जस्तै गरेको बताउनुभयो । सरकारले नै हिंसालाई प्रोत्साहित गरिरहेको उहाँले बताउनुभयो ।

’असामाजिक, अमानवीय र गैरकानुनी काममा साथ दिन सक्दिनँ भन्दा, समाजमा शान्ति सुव्यवस्था र एकताको पक्षमा कुरा गरे, त्यो सहन नसकेर, तिमीलाई त मार्छाैं नै, तिम्रा बालबच्चा सपरिवार मार्छाैं भन्ने यो आतंकवाद बाहेक केही होइन, आतंककारी क्रियाकलाप बाहेक केही होइन, सरकार आफैंले यस्ता कुरालाई प्रोत्साहित गरेको छ, यस्ता अपराध बढाइरहेको छ, सपरिवार मार्छु भनेको छ, त्यस्ता मान्छेलाई नियन्त्रणमा लिन्न,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई समेत सरकारले संरक्षण गर्न खोजेको बताउनुभयो । नामै लिएर अपराधीहरूले दिनदहाडै खुकुरी प्रहार गर्दा सरकार कानमा तेल हालेर बसेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ’अस्ति यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त, पहिले नै खुकुरी हान्छु भनेको थियो, लात्ती हान्छु भनेर खुट्टा उचालेको थियो, मान्छेहरूको नाम लिई लिईकन काट्छु भन्दा सरकार कानमा तेल हालेर बसेको थियो, त्यो प्रवृत्ति उचित होइन ।’

एकछिनको राजनीतिक स्वार्थका लागि आतंकारी क्रियाकलापलाई प्रोत्साहित गर्ने खालका, अराजकता क्रियाकलापलाई प्रोत्साहित गर्ने खालका र अराजकतालाई ढाकछोप गर्ने खालका क्रियाकलाप बढ्दै गइरहेका भन्दै उहाँले चिन्ता जनाउनु भयो । हिंसालाई प्रोत्साहन गर्ने, झुट बोल्ने, असभ्यता प्रकट गर्ने जस्ता क्रियाकलापहरु संसद्मा समेत भइरहेका भन्दै उहाँले दलहरु सजग हुनुपर्ने बताउनुभयो ।

’संसद्मा समेत हिंसालाई प्रोत्साहन गर्ने, झुट कुराहरु बोल्ने, असभ्यता प्रकट गर्ने क्रियाकलापहरु हुने गरेका छन्, राजनीतिक पार्टीहरू सचेत हुनुपर्छ,’ अध्यक्ष ओलीको भनाई थियो । सम्मानित ढंगले बाँच्न पाउनुपर्ने अधिकार खोस्न उद्धत हुने प्रवृति हाबी हुँदा समेत सरकार मूकदर्शक बनेको उहाँले बताउनुभयो । राजनीतिक कुरा निकाल्नु भन्दा हिंसा विरुद्ध जागरण अभियान चलाउन समेत अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।

नेपाली–नेपाली बीचमा जात, भाषा, सम्प्रदाय र विभिन्न आस्थाका नाममा अनेक ढंगले नेपालमा द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको भन्दै अध्यक्ष ओलीले सजग रहन आग्रह गर्नुभयो । कूटनीतिज्ञहरु कूटनीतिक मर्यादा नाघेर विभिन्न ठाउँमा विभिन्न प्रकारका भित्रि खालका भेटघाटमा सक्रिय भएको देखिएको भन्दै उहाँले ती भेटघाटका पछाडि के छ भन्ने कुरातर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

विदेशी नियोगका प्रतिनिधिहरूले कूटनीतिक मर्यादा पालना नगरेको भन्दै अध्यक्ष ओलीले सरकारको ध्यानाकर्षण गराउनुभयो । ’कूटनीतिज्ञहरू कूटनीतिक मर्यादा नाघेर विभिन्न भेटघाट, विभिन्न ठाउँमा विभिन्न प्रकारका भित्रि खालका भेटघाट, ती भेटघाटका पछाडि के छ ? राम्रो कुरा भए खुल्ला हुन्थ्यो होला. अलि भित्रि खालका भेटघाट गरेको देखिन्छ, यस्ता कुराहरूबाट हाम्रा मित्रहरूले रिसेन्ट गर्नुपर्छ, सरकारले यस्ता कुरा गर्न हुँदैन भनेर सबैलाई बताउनुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

मानव जातीका बीचमा बैमन्स्यता नभएको, घृणा भाव नभएको, एकताभाव, स्नेहभाव मित्रभाव र सहयोगी भाव भएको सभ्य समाज विकास गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारलाई स्टन्डबाजी छाडेर सुशासनको पक्षमा काम गर्न समेत उहाँले सुझाव दिनुभयो ।

सरकार नै तस्करीमा संलग्न भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ’सरकारले स्टन्डबाजी गर्छ, सरकार तस्करीमा संलग्न हुन्छ र संरक्षण गर्छ, कमिसनखोरीमा डुब्छ, जनताको समस्या हुन्छन् तर ती कुराहरू देख्दैन, स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्नुस,’ अध्यक्ष ओलीले भन्नुभयो । सामाजिक कुरामा सरकारको ध्यान नगएको भन्दै अध्यक्ष ओलीले सामाजिक कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*