कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउन सुहाउँदैन : भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशी प्रदेशसभा सदस्य खगेन सिङ हाङगामले नेपाल प्रहरीका डीएसपी राजन लिम्बुलाई दिएको चेतावनी कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाएको भन्दै त्यो सुहाउने कुरा नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्ने बताएका छन् ।
‘त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो ।’, भट्टराईले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन ।’ उनले लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुने पनि बताएका छन् । ‘लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुन्छन् । ताप्लेजुङ ?’, भट्टराईले प्रश्न गरेका छन् ।

प्रदेश सांसद र डीएसपीबीचको विवाद छानबिन गर्न समिति गठन
। कोशी प्रदेशसभाका सांसद खगेनसिंह हाङगाम र ताप्लेजुङका डीएसपी राजन लिम्बु बीचको विवादबारे छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताएका हुन् । समितिमा संयोजक सहित ४ जना सदस्य छन्भ छन । भदौ २१ मा फुङलिङमा आयोजित ‘मिनिमेला’मा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा सांसद र डीएसपीको प्रतिष्ठाको लडाइँ बनेको छ । प्रदेश सांसद हाङगाम पक्षधरले प्रहरीले रातभर सांसदको घर घेरेको दाबी गरेका छन् । ।
मेलाबाट सुरु भएको विवादपछि सांसद हाङगामले ताप्लेजुङका डीएसपी राजन लिम्बुविरुद्ध ‘विवादास्पद’ अभिव्यक्ति दिएका छन् । सांसद हाङगामले डीएसपीलाई ‘बर्दी खोल्न तयार छौँ’ भदै मुठभेडमा आउन खुल्ला आह्वान गरेका छन् । हाङगामले डीएसपीका परिवारलाई पनि नछाड्ने धम्की दिएका छन् । उनको भनाइ सामाजिक सञ्जालमा भाइरल छ । सांसद खगेनसिंह हाङगामको अभिव्यक्ति ‘नोटिस’मा रहेको डीआईजी बास्तोलाले बताए । उनले भने–‘उहाँको भनाई नोटिसमा छ ।’ आन्तरिक छानबिनका लागि एसपी ऋषिराम कँडेल नेतृत्वको टिम ताप्लेजुङमा पुगेको छ । हाङगाम ताप्लेजुङ क्षेत्र नम्बर–१ (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।



















