सर्लाही मलंगवाको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सर्लाहीको सदरमुकाम मलंगवा क्षेत्रमा लगाइएको कर्फ्यु आइतबार बिहानदेखि हटाइएको छ ।
बिहान ८ बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा भने जारी गरेको छ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय सर्लाहीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै साबिकको मलंगवा नगर क्षेत्रमा भेला हुन, जुलुस र प्रदर्शन गर्न तथा प्रचार सामाग्री टाँस्न नपाउने गरि आइतबार बिहान ८ बजेदेखि भाद्र २७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको हो ।
मलङ्गवामा दुई पक्षबीच ढुङ्गा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिबार साँझ ५ बजेदेखि आज आईतवार बिहान ८ बजेसम्मका लागि कफ्र्य आदेश जारी गरेको थियो ।
अस्ती शुक्रबार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिवार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो ।



















