कांग्रेसका यी नेताले गरे गृहमन्त्री परिवर्तन हुने संकेत
काठमाडौं । पछिल्लो समय सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीबीचमा तिक्तता उत्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकमना सरकारझैं एकलौटी ढंगले अघि बढेपछि कांग्रेस असन्तुष्ट देखिएको छ । त्यही कारण सत्तारुढ गठबन्धनमै गडबडी उत्पन्न हुन लागेको चर्चा चलेको छ ।
खासगरी नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, ६० किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाका कारण कांग्रेस असन्तुष्ट बनेको छ ।
कांग्रेसले गृहमन्त्रीले आफ्ना नेताहरूलाई जोगाउने र अरु दलका नेता फसाउने खेलमा लागेको भन्दै कांग्रेसले गृहमन्त्री परिवर्तन गर्नुपर्ने अडान राखेको छ ।
तर, प्रचण्डले यसलाई बेवास्ता गरिरहेकाले कांग्रेस नेताहरूले विकल्प सोच्नुपर्ने बताउन थालेका छन् । कांग्रेस नेता शेखर कोइरालाले प्रचण्डबाट सरकार नचल्ने सार्वजनिक नै गरिसकेका छन् ।
यसैक्रममा नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले गृहमन्त्री परिवर्तन हुनसक्ने सम्भावना रहेको बताएका छन् । शुक्रबार बिहान नेपाली रेडियो नेटवर्कमा कुराकानीका क्रममा उनले आफ्नो पार्टी तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको तर मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे । ‘नेपाली कांग्रेस कुनै पनि मानेनमा देशमा अस्थिरता चाहँदैन ।
त्यसैले हामी सरकार परिवर्तनको पक्षमा छैनौं । यसलाई नै स्थिर र व्यवस्थित बनाउनुपर्छ भन्ने पक्षमा छौं,’ ढुंगानाले भने, ‘मन्त्रीमण्डल परिवर्तन सामान्य कुरा हो । समय समयमा भइरहेकै हुन्छ ।तर यसै कारण गठबन्धन टुट्ने परिस्थिति बनेको छैन ।’
पार्टी सभापति शेरबहादुर देउवा निकट नेता मानिने ढुंगानाले कोशी प्रदेशमा एमालेसँग मिलेर सरकार बनाउने सम्भावना नरहेको बताए ।‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल हो । सर्वोच्च अदालतको निर्णय स्वीकार गर्नैपर्छ । कोशी प्रदेशमा एमालेले उपसभामुखलाई अनुपस्थित गराएर अस्थिरता निम्त्याउने खेल खेल्यो, त्यो खतरनाक छ । हाम्रो पार्टी सभापतिले प्रदेश सरकारलाई स्थिरता दिन कोसिस नगर्नुभएको होइन । परिस्थिति अनुकूल हुन सकेन । जहाँसम्म एमालेसँग मिलेर सरकार बनाउने कुरा छ, अहिले नै त्यो सम्भावना देख्दिनँ,’ ढुंगानाले भने ।
उनले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमण कहीं न कहीं गणतन्त्र र संविधान सिध्याउने षडयन्त्र भएको टिप्पणी गरे ।साथै उनले उक्त घटना २००७ सालपछि खुकुरी दलले बीपी कोइरालालाई सिध्याउन गरेको षड्यन्त्रसँग तुलना गरे ।



















