कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाए हुन्छ : राजेन्द्र लिङ्देन

वेलकम खबर
भदौ २३, २०८०

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन्।

शनिबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले राप्रपा कुनै पक्षमा नहुँदा प्रदेशसभा नै विघटन हुनसक्ने खतरा देखिन थालेको बताए। ‘हामी कुनै पक्षमा नलागिदिँदा यहाँ प्रदेशसभा नै विघटन हुनसक्ने परिस्थिति देखिन थालेको छ। तर त्यो कांग्रेस र एमाले मिलेन भने मात्र हामी कतै लागि दिए हुन्थ्यो भन्ने कुरा हो,’ लिङ्देनले भने, ‘सबैभन्दा पहिलो उपयुक्त कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरु मिले यो प्रदेशसभालाई जोगाए राम्रो हुन्थ्यो। त्यसको मौका अझै छ। तीस दिन छ, त्यो भन्दा पछि अर्को धारा छ। मेरो इच्छा त कांग्रेस र एमाले मिलेर बनाए हुन्छ भन्ने हो।’

सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउने सर्वोच्चको आदेशसँगै संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्। शनिबार नै त्यहाँ मन्त्रिपरिषद् पनि विस्तार भइसकेको छ।

साथै, उनले अहिलेको वर्तमान सरकारले देखाउनकै लागि भ्रष्टाचारविरुद्धको अभियान थालेको पनि उनले बताए। ‘अहिले यो भ्रष्टाचारविररुद्धको छानविन अथवा सुन तस्करी प्रकरणको छानविन देखाउनकै लागि भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘मुख्यगरी सत्ता पक्षले सत्ता कवचको रुपमा यसलाई प्रयोग गर्न थालेको खुलेयाम देखिन थालेको छ।’

जातीय सद्भाव बिथोल्ने कुराहरू अहिले सतहमा देखिन थालेको उनले बताए। ‘यो एकताको दृष्टिकोणले पनि खतरनाक हुन्छ। कुनैपनि बेला विखण्डनको कारण बन्न सक्छ, जातीय सद्भाव यसले बिथोल्नसक्छ भनेर हामीले भनेका थियौं। अहिले सतहमा देखिन थालेको छ। आर्थिक रुपले पनि देखिन थालेको छ। धन्न ६ वटा प्रदेशमा त्यस्तो विषय प्रभावकारी रुपले देखिन थालेको छैन। अहिले आएर कोशीमा देखिएको छ। जे कुराको बिउ रोपेको हो त्यो फल लाग्ने कुरा हो,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*