मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीले जिते खसी

वेलकम खबर
भदौ १९, २०८०

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा निजामती सेवा दिवसका अवसरमा मंगलबार जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ। पुरुष तथा महिला दुवैबीच भएको टिममा कर्मचारी टिमले जनप्रतिनिधि टिमलाई पराजित गरेको हो।
जनप्रतिनिधि र कर्मचारीबीच भएको महिलातर्फको खेलमा कर्मचारीको टिमले ४–० गोलले जनप्रतिनिधि टिमलाई हराएको कर्मचारी मिलन केन्द्र ताप्लेजुङका अध्यक्ष टंकबहादुर भट्टराईले बताए। प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको कप्तानीमा महिला कर्मचारीको टिम र फुङ्लिङ नगर उपप्रमुख भीमादेवीको कप्तानीमा महिला जनप्रतिनिधिको टिमबीच खेल भएको थियो।
यस्तै, प्रदेश सभाका सदस्य खगेनसिंह हाङगामको कप्तानीमा रहेको पुरुष जनप्रतिनिधिको टिम जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) राजन लिम्बूको कप्तानीमा रहेको टिमसँग ३–१ ले पराजित भयो। कर्मचारी मिलन केन्द्रका सचिव विज्ञान बञ्जाराले जनप्रतिनिधि र कर्मचारीबीचमा कायम सदभाव र भ्रातृत्वलाई निरन्तरता दिन निजामती सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल खेलाइएको बताए। दुवै टिमका विजेताले पुरस्कारस्वरूप एक–एकवटा खसी पाएका थिए।
हरेक वर्षको भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ। यो वर्ष कर्मचारी मिलन केन्द्र ताप्लेजुङले मैत्रीपूर्ण फुटबल, स्वास्थ्य सचेतना कार्यक्रम, कविगोष्ठी र अन्तरक्रियासहितका कार्यक्रम राखेको मिलन केन्द्रका अध्यक्ष टंकबहादुर भट्टराईले जानकारी दिए।-nayapatrikadaily

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*