मदन भण्डारीलाई महासचिव चुनेको घरमा आज एमाले सचिवालय बैठक बस्दै

वेलकम खबर
भदौ १३, २०८०

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्दैछ।

नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो। बुधबार बिहान साढे ११ बजे बस्ने बैठककको सबै तयारी पूरा भएको भट्टराईले जानकारी दिए।
यस अघि यही भदौ ९ गतेका लागि तय भएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले आजका लागि सारिएको थियो। सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले)ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो। सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो। त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको छ।
‘चौथो महाधिवेशन नीति, कार्यक्रम र नेतृत्वका हिसाबले अग्रगामी रहेको थियो’, सचिव भट्टराईले भने, ‘एमालेको विचार निर्माणमा त्यो महाधिवेशन ऐतिहासिक थियो। त्यसैको सम्झनास्वरुप बैठक यही स्थानमा तय गरिएको हो।’
सचिव भट्टराईले यस ठाउँको भौतिक पूर्वाधारको विकास, नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन केन्द्र, कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्षमा आज नै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट कम्युनिष्ट आन्दोलनको स्तम्भ सोही ठाउँमा शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको उनले बताए।सो स्थानलाई वैचारिक तथा सैद्धान्तिक पर्यटकस्थलका रूपमा विकास गरिने एमालेले जनाएको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*