कुखुरा चोरेको आरोपमा कुटिएका बालकको मृत्यु
सुर्खेत। रुकुम (पश्चिम)मा कुखुरा चोरी गरेको आरोपमा कुटिएका एक बालकको मृत्यु भएको छ ।गत बिहीबार कुटपिटबाट गम्भीर घाइते भएका मुसिकोट नगरपालिका–४ ताङतुङ्गेका ९ वर्षीय भुवन बिकको शनिबार बिहान मृत्यु भएको हो ।
कुखुरा चोरेको आरोपमा भुवनलाई स्थानीय रामबहादुर बुढाथोकीले कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ।कुटिएका भुवनलाई गाह्रो भएपछि शनिबार बिहान जिल्ला अस्पताल सल्लेमा लगिएको प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताए । त्यही उनको मृत्यु भएको हो ।
कुटपिट गर्ने बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुढाथोकी बोल्न नसक्ने अवस्थाका रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । भुवनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ।



















