उच्चस्तरीय छानविन समिति बनाउन सरकार तयार, कार्यक्षेत्र र संरचना आज टुंगो लाग्दै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको अनुसन्धानको लागिव उच्चस्तरीय छानविन समिति बनाउन सरकार तयार भएको छ ।
सोमबार राति अबेरसम्म बसेको सर्वदलीय बैठकमा सरकार उच्चस्तरीय छानविन समिति बनाउन तयार भएको हो । आज त्यसको संरचना र कार्यक्षेत्र टुंगो लगाउने तयारी छ ।
उच्चस्तरीय छानविन समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको छ।
सो कार्यदलको बैठक आज बिहान ११ बजे बस्दैछ । सोही बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदा तयार पारेर आज दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकमा पेस गर्ने छ । शीर्ष नेताहरुको बैठक दिउँसो दुई बजे बोलाइएको छ ।
सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार सहमत भएकाले अब संसदको अवरोध हट्ने विश्वास छ ।
गएको साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार छलेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बाट साढे ६० किलो सुन निस्किएको छ । सरकारले यो घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई जिम्मा दिइसकेको छ ।



















